सुरुङमा फसेकाको उद्धारमा ‘विशेष प्रविधि होइन, पर्याप्त उपकरण चाहिन्छ’ : कुलमान घिसिङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुरुङमा फसेकाको उद्धारमा ‘विशेष प्रविधि होइन, पर्याप्त उपकरण चाहिन्छ’ : कुलमान घिसिङ

काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि कुनै विशेष प्रविधि आवश्यक नरहेको बताएका छन्।

भदौ १० गतेको भोटेकोशी बाढीबाट भएको क्षतिबारे बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग छलफल गर्दै घिसिङले उद्धार कार्यलाई प्रभावकारी बनाउन घटनास्थलमा पर्याप्त उपकरण र दक्ष जनशक्ति तत्काल पुर्‍याउनुपर्नेमा जोड दिएका हुन्।

उज्यालो नेपाल पार्टीका पदाधिकारीसहित सिंहदरबार पुगेका घिसिङले प्रधानमन्त्रीलाई बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा आफूले देखेका समस्या र उद्धार, राहत तथा पुनःस्थापनाका लागि गर्नुपर्ने कामबारे सुझाव दिएको बताए।

घिसिङका अनुसार प्रधानमन्त्री शाहले विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको उद्धार कसरी गर्ने भन्ने विषयमा चासो राखेका थिए। ‘मुख्यगरी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँको जिज्ञासा र चासो थियो। त्यसबारे हामीले बुझेका र गर्नुपर्ने कामहरू उहाँसमक्ष राखेका छौं,’ घिसिङले भने।

उनका अनुसार प्रधानमन्त्री शाहले उद्धारका लागि आवश्यक पर्ने सबै स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। देशभित्र उपलब्ध स्रोतले मात्रै नपुगे विदेशबाट समेत आवश्यक उपकरण ल्याएर उद्धार अभियानलाई प्रभावकारी बनाउने प्रधानमन्त्रीले बताएको घिसिङले जानकारी दिए।

उपकरण पुर्‍याउन नसक्नु मुख्य चुनौती

सुरुङ उद्धारका लागि विशेष प्रविधि नै आवश्यक पर्ने भन्ने धारणा गलत रहेको घिसिङको भनाइ छ। उनले उद्धार टोलीसँगै पर्याप्त उपकरण घटनास्थलसम्म पुर्‍याउन सके सुरुङमा फसेकालाई बाहिर निकाल्न सकिने बताए।

‘विशेष प्रविधि भन्ने त केही पनि हुँदैन। कामैले गर्ने हो। हामीले घटनास्थलमा आवश्यक उपकरणहरू लैजानुपर्‍यो। उद्धार टोली हुनुपर्‍यो,’ उनले भने। घिसिङका अनुसार उद्धार टोली मात्रै पर्याप्त हुँदैन। सुरुङभित्र जम्मा भएको गेग्रान, ढुंगा तथा अन्य अवरोध हटाउन आवश्यक उपकरण तत्काल घटनास्थलमा पुर्‍याउनु मुख्य विषय हो।

‘मुख्य समस्या भनेकै त्यहाँ उपकरण पुर्‍याउन गाह्रो भएकाले हो,’ उनले भने। उनले सुरुङभित्र थुप्रिएको गेग्रान र ढुंगा हटाउँदै क्रमशः उद्धार अघि बढाउनुपर्ने बताए। त्यसका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गर्न सके उद्धार कार्य प्रभावकारी बनाउन सकिने उनको दाबी छ।

भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको छ भने केही आयोजनाका कर्मचारी तथा अन्य व्यक्ति सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सरकारले उपलब्ध सबै स्रोत परिचालन गर्नुपर्नेमा घिसिङले जोड दिएका छन्।