बाढी प्रभावितको उद्धार र पुनःस्थापना मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of बाढी प्रभावितको उद्धार र पुनःस्थापना मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा विपद्पछिका सबै गतिविधि मानव अधिकारमैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ। आयोगले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धारको अवस्था, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा राखिएका प्रभावित नागरिकको मानव अधिकार अवस्थाबारे प्रारम्भिक अनुगमन गरेको जनाएको छ।

आयोगले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मानव अधिकार आयोगले विपद्को समयमा उद्धार तथा मानवीय सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, मनोसामाजिक परामर्शदाता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थालाई धन्यवाद दिएको छ।

मानवीय सहयोगका लागि स्वयंसेवी रूपमा खटिएका सर्वसाधारणप्रति पनि आयोगले आभार व्यक्त गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका काममा निजी क्षेत्रसँग समेत सहकार्य र समन्वय गर्न आयोगले सरकारलाई सुझाव दिएको छ।

आयोगले विपद्को संवेदनशील परिस्थितिमा प्रभावित परिवारको पीडालाई थप असर पुग्ने किसिमका नकारात्मक टिप्पणी तथा गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका कार्यमा सरकारलाई सहयोग गर्न र मानवीय सेवामा सक्रिय हुन पनि आयोगले अपिल गरेको छ।

त्यस्तै, विपद्का बेला भ्रम तथा त्रास फैलिन सक्ने भएकाले अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट सचेत रहन आयोगले सर्वसाधारणलाई अनुरोध गरेको छ। आयोगले विपद् व्यवस्थापनका क्रममा प्रभावित नागरिकको जीवन, स्वास्थ्य, सम्मान तथा अन्य मौलिक अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा समेत जोड दिएको छ।