विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ : रवि लामिछाने

User Image Prime TV News १ हप्ता अगाडि
Image of विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ : रवि लामिछाने

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार बसेको रास्वपाको सचिवालय बैठकमा सभापति लामिछानेले विपद्को सामना गर्न सबै राजनीतिक शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताएका हुन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा लामिछानेले हालै सम्पन्न सर्वदलीय बैठकमा भएका छलफल तथा त्यसबाट निकालिएका निष्कर्षबारे पार्टीका पदाधिकारीलाई जानकारी गराएका थिए।

लामिछानेले सर्वदलीय बैठकमा सहभागी दलहरूबीच देखिएको ऐक्यबद्धताको प्रशंसा गर्दै सहभागी सबैलाई धन्यवादसमेत दिएका थिए। ‘सर्वदलीय बैठकमा जुन ऐक्यबद्धता व्यक्त गरिएको छ, त्यसका लागि सभापति लामिछानेले उहाँहरू सबैलाई धन्यवाद दिनुभएको छ,’ प्रवक्ता खरेलले लामिछानेको भनाइ उद्धृत गर्दै भने।

बैठकमा लामिछानेले विपद्को अवस्थामा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राखेको खरेलले बताए। ‘हाम्रो राजनीतिक र राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा जोड दिनुभएको छ,’ उनले भने।

पछिल्लो समय बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम चलिरहेको अवस्थामा रास्वपा सभापति लामिछानेले सबै राजनीतिक दलबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा अघि सारेका हुन्।