कूटनीतिक समुदायलाई खनालको जानकारीः ‘भोटेकोसी बाढी हिमालयन सुनामी हो’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी बाढीबाट उत्पन्न विपद्को अवस्थाबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई जानकारी गराएका छन्।
बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित ब्रिफिङमा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी थिए। ब्रिफिङमा मन्त्री खनालले भदौ १० गते रसुवागढी क्षेत्रमा आएको बाढीको पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था र प्राप्त अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी दिए।
भोटेकोसीमा आएको बाढीले केही मिनेटमै ठूलो परिमाणमा माटो तथा गेग्रान बगाएर तल्लो क्षेत्रमा व्यापक क्षति पुर्याएको उल्लेख गर्दै खनालले यसलाई ‘हिमालयन सुनामी’को संज्ञा दिए। ‘म यसलाई हिमालयन सुनामी भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ,’ उनले भने।
बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा जनजीवन र भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको उनले बताए।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
मन्त्री खनालका अनुसार विपद् आएको पहिलो दिनदेखि नै सरकारले खोजी, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार तथा राहतलाई प्राथमिकतामा राखेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै संघ, प्रदेश र स्थानीय तहका निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदाय उद्धार र राहतमा खटिएका छन्।
नका अनुसार हालसम्म २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले विपद्को कारण र यसको विकासक्रमबारे प्राविधिक विज्ञको सहयोगमा अध्ययनसमेत गरिरहेको जनाएको छ।
विदेशी नागरिकको खोजीमा कूटनीतिक समन्वय
भोटेकोसी बाढीपछि सम्पर्कविहीन विदेशी नागरिकको खोजी र पहिचानका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावास, नेपाल प्रहरी, नेपाल पर्यटन बोर्ड तथा विदेशस्थित नेपाली नियोगसँग समन्वय गरिरहेको खनालले बताए।
परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको आपत्कालीन नियन्त्रण कक्षमार्फत सम्पर्कविहीन विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने, पहिचानमा सहजीकरण गर्ने तथा आवश्यक परे स्वदेश फिर्तीका लागि समेत सहयोग भइरहेको उनले जानकारी दिए।
कूटनीतिक नियोगहरूले आफ्ना नागरिक सम्पर्कविहीन भएको विवरण उपलब्ध गराएकोमा धन्यवाद दिँदै खनालले यस्ता सूचनाले खोजी तथा पहिचान कार्यमा सहयोग पुग्ने बताए।
अन्तर्राष्ट्रिय सहयोगप्रति आभार
मन्त्री खनालले विपद्को समयमा सहयोग गर्ने भारत, चीन, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायत, अस्ट्रेलिया, क्यानडा, कतार, यूएईलगायत विभिन्न देशप्रति आभार व्यक्त गरे। यस्तै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त सहयोगप्रति पनि उनले धन्यवाद दिए।
उनका अनुसार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट उद्धार विशेषज्ञता, उपकरण, लजिस्टिक, चिकित्सा तथा फोरेन्सिक सहयोग र आर्थिक सहायता प्राप्त गरिरहेको छ।
पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक
भोटेकोसी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठूलो परिमाणमा स्रोत आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको खनालले बताए।
विस्तृत क्षति मूल्यांकनपछि पुनर्निर्माणका लागि आवश्यक स्रोतबारे अन्तर्राष्ट्रिय साझेदारलाई जानकारी गराउने र पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग माग्ने सरकारको तयारी छ। प्राप्त अन्तर्राष्ट्रिय सहयोगलाई पारदर्शी, जवाफदेही र लक्षित क्षेत्रमा प्रयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
‘नेपाल सुरक्षित छ, पर्यटक आउन सक्छन्’ खनालले भोटेकोसी बाढीबाट केही क्षेत्रमा ठूलो क्षति भए पनि नेपालका अधिकांश क्षेत्र सुरक्षित र खुला रहेको बताए।
देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको उल्लेख गर्दै उनले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण, सगरमाथा र बर्दियालगायत प्रमुख पर्यटकीय गन्तव्य पर्यटकका लागि खुला रहेको जानकारी दिए।
पर्यटन स्थानीय समुदायका लागि महत्वपूर्ण जीवनरेखा भएकाले विपद्का कारण पर्यटक आगमन प्रभावित हुन नदिन कूटनीतिक नियोगमार्फत सकारात्मक सन्देश प्रवाह गर्न उनले आग्रह गरे। ‘नेपाल खुला छ र हाम्रो देशले चिनिएको त्यही न्यानोपन र आतिथ्यताका साथ यात्रुहरूलाई स्वागत गर्न तयार छ,’ खनालले भने।
मन्त्री खनालले भोटेकोसी विपद्लाई तत्कालीन मानवीय संकटका रूपमा मात्र नभई जलवायु परिवर्तन र हिमालय क्षेत्रमा बढ्दो जोखिमसँग जोडेर हेर्नुपर्ने बताए। जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी र विपद् प्रतिरोधी पुनर्निर्माणलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए।







