विपद्को बेला सरकारलाई सहयोग गर्‍यौँ, तर उद्धारमा खेलबाड भयो : विश्वप्रकाश शर्मा

User Image Prime TV News १ हप्ता अगाडि
Image of विपद्को बेला सरकारलाई सहयोग गर्‍यौँ, तर उद्धारमा खेलबाड भयो : विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय विपद्को सामना गर्न पार्टीले सरकारलाई सहयोग गर्दै आएको बताएका छन्।

तर विपद्का बेला सरकारको उद्धार तथा राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेका छन्। कांग्रेसको नीति प्रतिष्ठानको बैठकमा बोल्दै शर्माले भोटेकोशीमा विपत्ति आएलगत्तै राष्ट्रिय विपद्लाई एकताबद्ध भएर सामना गर्नुपर्छ भन्ने नीतिका साथ कांग्रेसले सरकारलाई सहयोग गरेको बताए।

उनले रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा प्राविधिक रूपमा गर्नुपर्ने कामलाई प्राथमिकता दिनुको सट्टा मन्त्रीहरू प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाए। उद्धारमा भएको ढिलाइले सरकारको मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठेको उनको भनाइ थियो।

बैठकमा बाढी तथा पहिरो प्रभावित क्षेत्रको राहत र उद्धारलाई प्रभावकारी बनाउने विषयमा स्थानीय जनप्रतिनिधिसँग छलफल गरिएको थियो। शर्माले एउटा स्थानीय तहमा विपत्ति पर्दा अर्को स्थानीय तहले सहयोग गर्ने भावनाका साथ आपसी समन्वय बढाउन आग्रह गरे।

छलफलको प्रारम्भमा रसुवा, नुवाकोट र धादिङका कांग्रेस जिल्ला सभापतिहरूले प्रभावित नागरिकले समयमै उद्धार तथा राहत पाउन नसकेको जानकारी गराएका थिए। उनीहरूले संघीय सरकारले स्थानीय सरकार तथा जनप्रतिनिधिलाई पर्याप्त समन्वयमा नलिई काम गर्दा समस्या थपिएको बताएका थिए।

बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव वंशलाल तामाङसहित रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कांग्रेसका प्रतिनिधिहरू सहभागी थिए।