रसुवा बाढी प्रभावितका लागि चीनबाट बेली ब्रिज सहित आयो राहत सामग्री

User Image Prime TV News १ हप्ता अगाडि
Image of रसुवा बाढी प्रभावितका लागि चीनबाट  बेली ब्रिज  सहित आयो राहत सामग्री

काठमाडौ । रसुवामा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो क्षमताको मालवाहक विमान वाई–२०ए मार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। उक्त विमानबाट नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञ समेत नेपाल आएका छन्।

उनीहरूले बाढीमा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा नेपाल सरकारलाई प्राविधिक सहयोग गर्नेछन्। विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।

मन्त्री पुनले नेपाल आइपुगेका चिनियाँ विज्ञ टोलीको स्वागत गरेका थिए। चीनबाट ल्याइएका राहत सामग्रीमा शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोग्य वस्तुहरू रहेका छन्। त्यस्तै, तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक बेली ब्रिज समेत समावेश गरिएको छ।

बेली ब्रिज जडानका लागि आवश्यक विशेष उपकरणहरू भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाका आइपुगेका छन्।