आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्।

देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक मान्यताअनुसार यस दिनलाई श्रीकृष्ण जन्माष्टमीका रूपमा मनाउने गरिन्छ। यस रातलाई मोहरात्रि पनि भनिन्छ।

जन्माष्टमीका अवसरमा कृष्ण मन्दिरहरूमा विशेष पूजा, प्रवचन, भजन तथा कीर्तन आयोजना गरिन्छ। धेरै भक्तजन व्रत बसेर रातभर जाग्राम बस्ने धार्मिक परम्परा रहेको छ।

धार्मिक ग्रन्थअनुसार अन्याय र अत्याचारको अन्त्य तथा मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको मानिन्छ। श्रीकृष्णले जीवनभर सत्य र सत्कर्मको पक्षमा रहन प्रेरणा दिएको धार्मिक विश्वास छ।

कुरुक्षेत्रको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई ‘श्रीमद्भागवतगीता’ भनिन्छ। हिन्दू धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा मानिने गीतालाई विभिन्न भाषामा अनुवाद गरिएको छ।

जन्माष्टमीका अवसरमा ललितपुरको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ। राजधानीको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ।

काठमाडौं उपत्यकाका विभिन्न कृष्ण मन्दिरमा समेत विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुँदैछन्। विभिन्न धार्मिक संघसंस्थाले कृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन्।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।