१० दिनपछि उद्धार गरिएका दुईमध्ये कबीर महर्जनको अवस्था जटिल

User Image Prime TV News १ हप्ता अगाडि
Image of १० दिनपछि उद्धार गरिएका दुईमध्ये कबीर महर्जनको अवस्था जटिल

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १० दिनपछि उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था जटिल रहेको छ।

दोस्रो पटक उद्धार गरिएका ४५ वर्षीय कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। महर्जनको सघन उपचार भइरहेको सेनाले जनाएको छ।

यस्तै, पहिलो चरणमा उद्धार गरिएका ३० वर्षीय सञ्जय साहको अवस्था भने सामान्य रहेको बताइएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहे पनि थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याउने तयारी गरिएको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञ सम्मिलित संयुक्त उद्धार टोलीले शुक्रबार बाढी गएको १० दिनपछि दुवै जनालाई सुरुङबाट जीवितै उद्धार गरेको हो। भोटेकोशीमा भीषण बाढी आएपछि आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशङ्का गरिएको थियो।

बाढी आएको केही समयदेखि नै उद्धार टोलीले उनीहरूको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्दै आएको थियो। तर, सुरुङभित्रको कठिन अवस्था र बाढीका कारण उद्धार कार्य लामो समयसम्म अघि बढ्न सकेको थिएन।

१० दिनपछि दुई जनालाई जीवितै उद्धार गरिएपछि सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि समेत आशा पलाएको छ। उद्धार टोलीले अन्य सम्भावित स्थानमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।