१० दिनपछि उद्धार गरिएका सञ्जय साहले भनेः ‘सुरुङभित्र अझै ३/४ जना हुन सक्छन्’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ दिनपछि जीवितै उद्धार गरिएका सप्तरीका सञ्जय साहले आफू फसेको स्थाननजिकै अझै ३/४ जना व्यक्ति रहेको हुनसक्ने बताएका छन्।
नेपाली सेनासँग उद्धारपछि कुराकानी गर्दै साहले पावर हाउसमा समेत मानिसहरू फसेको हुनसक्ने बताएका हुन्। उनका अनुसार सुरुङभित्र रहँदा केही मानिसले कुराकानी गरेको आवाजसमेत उनले सुनेका थिए।
साहका अनुसार उनी आयोजनाको कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत थिए। सामान्य अवस्थामा कन्ट्रोल रुममा ५/६ जना मात्रै रहने भए पनि घटनाका बेला आयोजनामा करिब ४०/४५ जना कामदार रहेको उनले बताएका छन्।
‘म कन्ट्रोल रुममा अपरेटर काम गर्थें। अरू बेला ५/६ जना मात्रै हुन्थे, यतिबेला ४०/४५ जना नै थियो। कन्ट्रोल रुममा भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो,’ साहले सेनासँग भनेका छन्। बाढी तथा दुर्घटनाको अवस्था आएपछि आफू एक्लै बाहिर निस्कनुभन्दा अन्य कर्मचारीलाई सुरक्षित स्थानतर्फ जान लगाएको उनले बताएका छन्।
‘त्यस्तो घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्यो। सबैलाई भनेँ, ड्याममा दुर्घटना भयो। सबैलाई बाहिर भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय गयो, म निस्कनँ पाएनँ,’ उनले भने। लामो समय सुरुङभित्र फसेका साहले आफूले ‘महामन्त्र’ जप्दै समय बिताएको समेत बताएका छन्।
उनले सुरुङभित्र केही मानिसहरू कुराकानी गरिरहेको सुनेको र पावर हाउसमा समेत मानिसहरू फसेको हुनसक्ने बताएका छन्। ‘पावर हाउसभित्र पनि मानिस हुन सक्छन्, भाग्न नसकेको हुन सक्छ,’ साहले भनेका छन्।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञ सम्मिलित टोलीले बाढी आएको नौ दिनपछि साहसहित काठमाडौंका कबीर महर्जनलाई सुरुङबाट जीवितै उद्धार गरेको हो।साह नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान हुन् भने महर्जन प्राधिकरणकै मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
साहको भनाइपछि आयोजनाको पावर हाउस तथा सुरुङका अन्य सम्भावित क्षेत्रमा फसेका व्यक्तिको खोजी तथा उद्धारलाई थप प्राथमिकता दिइएको छ।







