त्रिशूली–३ ‘ए’ मा दुई जना जीवितै भेटिएपछि अन्य सुरुङमा फसेकाको उद्धार हुने आशा बलियो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भोटेकोसी–त्रिशूली नदीमा आएको भीषण बाढीको १० दिनपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना जीवितै उद्धार भएपछि बाढीका कारण अन्य जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेका व्यक्तिहरू पनि सकुशल भेटिने आशा बढेको छ।
सरकारले प्रभावित अन्य सुरुङहरूमा समेत खोज तथा उद्धार कार्य निरन्तर भइरहेको जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘सास रहुन्जेल आस रहन्छ’ भन्दै प्रभावित सबै सुरुङमा उद्धार प्रयास जारी रहेको जनाएको हो। मन्त्रालयले लेखेको छ, ‘आशा छोडेका छैनौँ। प्रयास रोकिएको छैन।’
गत भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा दुई जना कर्मचारी थुनिएका थिए। नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई शुक्रबार बिहान १० दिनपछि जीवितै उद्धार गरिएको हो।
दुई जनाको जीवितै उद्धार भएपछि रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत् गृह तथा माथिल्लो त्रिशूली–१, अप्पर त्रिशूली–३ ‘बी’ र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि सकुशल रहेको हुनसक्ने आशा बलियो बनेको छ।
पूर्वऊर्जामन्त्री कुलमान घिसिङले समेत दुई कर्मचारीको जीवितै उद्धारको खबरले आफूलाई खुसी र राहतको अनुभूति भएको बताएका छन्। उनले यो घटनाले अन्य आयोजनाका भूमिगत संरचनामा फसेका व्यक्तिहरू पनि सकुशल रहेको आशा थप बलियो बनाएको उल्लेख गरेका छन्।
घिसिङले रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१, अप्पर त्रिशूली–३ ‘बी’ र लाङटाङ खोला जलविद्युत् आयोजनामा फसेका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
उनले उद्धार कार्यमा आफ्नो विज्ञता, प्राविधिक क्षमता र उपलब्ध साधन–स्रोतअनुसार हरसम्भव सहयोग भइरहेको र निरन्तर रहने प्रतिबद्धता पनि जनाएका छन्। यसैबीच, बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा फसेका व्यक्तिको खोजीमा सुरक्षाकर्मी, उद्धारकर्मी, प्राविधिक तथा अन्य सहयोगी टोली निरन्तर परिचालित छन्।
त्रिशूली–३ ‘ए’ बाट दुई जनाको जीवितै उद्धार हुनुले लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य व्यक्तिको खोजीमा समेत नयाँ आशा र उत्साह थपिएको छ।







