बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न कांग्रेस सभापति गगन थापा विज्ञ टोलीसहित रसुवामा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिन थापा शुक्रबार रसुवा पुगेका हुन्। थापा विज्ञहरूसहित नौकुण्ड गाउँपालिका–३ स्थित घिचेत पुगेका उनका सचिवालयले जनाएको छ।
त्यहाँ उनले बाढीबाट प्रभावित स्थानीयवासी, क्षतिग्रस्त संरचना तथा प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत जानकारी लिनेछन्। यसअघि थापा भदौ १५ गते बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए। बाढीबाट प्रभावित विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै उनले उद्धार, राहत तथा पुनर्निर्माणका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
थापाले बिहीबार पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्थाका आधारमा विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने बताएका थिए। स्थलगत अध्ययनबाट प्राप्त विवरणका आधारमा प्रभावित क्षेत्रको वास्तविक क्षति, तत्कालीन आवश्यकता तथा पुनःस्थापनाका लागि आवश्यक कदमबारे प्रतिवेदन तयार गरिने बताइएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। बाढीले जलविद्युत् आयोजना, सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको छ।
बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार, राहत र क्षतिको विवरण संकलन गर्ने काम जारी छ। कांग्रेस सभापति थापाको नेतृत्वमा भएको स्थलगत निरीक्षणले प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गरी आगामी राहत तथा पुनःस्थापनाका लागि आवश्यक सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।







