जलवायु परिवर्तनको असर बापत नेपालले क्षतिपूर्ति दाबी गर्नुपर्छ : केपी ओली

User Image Prime TV News १ हप्ता अगाडि
Image of जलवायु परिवर्तनको असर बापत नेपालले क्षतिपूर्ति दाबी गर्नुपर्छ : केपी ओली

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताएका छन्।

उनले नेपालले वातावरणीय क्षति पुर्‍याउन खासै भूमिका नखेले पनि त्यसको गम्भीर असर बेहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय मञ्चबाट क्षतिपूर्ति माग गर्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनको विषयलाई अत्यन्तै गम्भीर विषयका रूपमा लिएर संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय फोरममा प्रभावकारी रूपमा उठाउनुपर्ने ओलीको भनाई थियो ।

‘जलवायुसम्बन्धी प्रश्न अत्यन्तै गम्भीर प्रश्न हो। यसलाई हामीले संयुक्त राष्ट्रसङ्घ लगायत विभिन्न अन्तर्राष्ट्रिय फोरममा उठाइ आएका छौँ,’ ओलीले भने, ‘हामीले वातावरण सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्न सक्नुपर्दछ।’

नेपालले जलवायु परिवर्तनमा योगदान नगरे पनि त्यसबाट हुने प्राकृतिक विपत्तिको ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ थियो। त्यसैले वातावरणीय क्षति गर्न मुख्य भूमिका खेल्ने मुलुक तथा पक्षबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने उनले बताए।

‘संयुक्त राष्ट्रसङ्घ लगायत साझा मञ्चबाट क्षतिपूर्तिको कुरा गर्नुपर्छ। किनभने हामीले वातावरणीय क्षति गरेका छैनौँ। क्षतिचाहिँ हामीले बेहोर्नुपरेको छ,’ ओलीले भने, ‘त्यसकारण यसमा जसले बिगार्न भूमिका खेलिरहेका छन्, उहाँहरूले क्षतिपूर्ति दिनुपर्छ।’

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। बाढीले जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा ओलीले क्षतिको अवस्था, प्रभावित नागरिकको समस्या तथा पुनःस्थापना र राहतका आवश्यकताबारे जानकारी लिएका थिए। उनले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको प्राकृतिक विपत्तिको जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी ढङ्गले प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।