त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, विभिन्न स्थानमा यातायात प्रभावित

User Image Prime TV News १ हप्ता अगाडि
Image of त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, विभिन्न स्थानमा यातायात प्रभावित

काठमाडौ । रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा कटान गर्दा सडक भासिएर यातायात प्रभावित भएको छ।

काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख राजमार्गका केही खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने केही स्थानमा सडक मर्मतको काम जारी छ। नागढुंगा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार मलेखुभन्दा अगाडि पर्ने कृष्णभीरमा बाढीले करिब १२० मिटर सडक कटान गरेपछि पहिरो खसेर सडक भासिएको छ।

त्यस्तै, मलेखुबाट काठमाडौं जानेतर्फ करिब एक किलोमिटर दूरीमा रहेको परेवाभीरमा करिब १०० मिटर सडक नदीले कटान गरेको छ। उक्त स्थानमा सडक विभागले भित्तातर्फबाट वैकल्पिक सडक निर्माण गरी ग्राभेलिङ तथा मर्मतको काम अघि बढाएको छ।

मर्मत सम्पन्न भएपछि उक्त खण्डमा ठूला मालवाहक सवारीसमेत सञ्चालन गर्ने तयारी रहेको इन्जिनियर मानन्धरले बताए। यस्तै, छहरे–चालिसे क्षेत्रमा करिब ४० मिटर सडक कटान हुँदा हाल एकतर्फी यातायात सञ्चालन भइरहेको छ। नागढुंगा चेकपोस्टबाट करिब ५०० मिटरको दूरीमा समेत करिब ८० मिटर सडक पहिरोका कारण क्षतिग्रस्त भएको छ। सो स्थानमा पनि एक लेनबाट सवारी सञ्चालन भइरहेको छ।

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

पृथ्वी राजमार्गका विभिन्न खण्डको अवस्था जोखिमपूर्ण रहेकाले सडक विभागले यात्रु तथा मालवाहक सवारीलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

ठूला मालवाहक सवारीका लागि बीपी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ। हेटौँडा–फर्पिङ हुँदै काठमाडौं आउने साना सवारीका लागि पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यसैबीच, फिस्लिङ क्षेत्रमा रोकिएका यात्रु तथा सवारीका लागि ज्यामिरेघाट पुल हुँदै गोरखाको सिउरेनीटार–घ्याल्चोकबाट बेनीघाट पुल निस्कने वैकल्पिक मार्गसमेत प्रयोग गर्न सकिने जनाइएको छ। परेवाटार क्षेत्रमा सडक मर्मतको काम पूरा गरेर १२ चक्केसम्मका मालवाहक सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ।

त्रिशूली नदीमा आएको बाढी तथा कटानका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक संरचनामा क्षति पुगेकाले यात्रुले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ जान सडक विभागले आग्रह गरेको छ।