‘कुर्सीमा बसेर कागजात समात्ने नेतृत्व खोज्नेहरू गलत युगमा छन्’ : गृहमन्त्री गुरुङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of ‘कुर्सीमा बसेर कागजात समात्ने नेतृत्व खोज्नेहरू गलत युगमा छन्’ : गृहमन्त्री गुरुङ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा राज्य सञ्चालनका क्रममा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्।

उनले परम्परागत शैलीमा मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्दै नेतृत्व गर्ने अभ्यास खोज्नेहरू ‘गलत युग’मा रहेको टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले विपद् प्रतिकार्यका लागि विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप)।’ गुरुङका अनुसार अनलाइन प्रविधिमार्फत हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक भइरहेको छ।

उनले विपद् प्रतिकार्य कमान्ड सेन्टरबाटै आवश्यक निर्णय तथा समन्वय भइरहेको दाबी गरेका छन्। ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ, चिन्ता लिनु पर्दैन,’ उनले भनेका छन्।

फिल्डको वास्तविक अवस्था नबुझी कार्यालयको कुर्सीबाट मात्रै नेतृत्व गर्दा विगतमा देशले त्यसको परिणाम भोग्दै आएको गुरुङको भनाइ छ। पुरानै कार्यशैलीबाट फरक र उत्कृष्ट परिणाम खोज्ने तर नेतृत्वलाई फेरि पुरानै शैलीमा काम गर्न दबाब दिने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

डिजिटल प्रविधिको प्रयोगले प्रशासनिक निर्णयदेखि उद्धार तथा विपद् प्रतिकार्यसम्मका कामलाई थप छिटो र प्रभावकारी बनाउन सकिने उनको दाबी छ। आफ्नो भौतिक उपस्थितिलाई लिएर प्रश्न उठाउनेहरूलाई लक्षित गर्दै गुरुङले ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन’ आग्रह गरेका छन्।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसपछिको उद्धार अभियानमा गृहमन्त्री गुरुङको कार्यशैली र फिल्डमा देखिएको प्रत्यक्ष उपस्थितिलाई लिएर राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठिरहेका बेला उनको यस्तो स्पष्टीकरण आएको हो।