त्रिशूली–३ ‘ए’ उद्धारस्थलबाट रास्वपाका सांसद ढकाल र न्यौपाने काठमाडौं फर्किए

User Image Prime TV News १ हप्ता अगाडि
Image of त्रिशूली–३ ‘ए’ उद्धारस्थलबाट रास्वपाका सांसद ढकाल र न्यौपाने काठमाडौं फर्किए

काठमाडौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकाल र श्रीराम न्यौपाने काठमाडौं फर्किएका छन्।

उद्धारस्थलमा सांसदहरूको उपस्थितिका कारण काममा अवरोध पुगेको गुनासो आएपछि पार्टीले उनीहरूलाई उद्धारस्थलमा नबस्न निर्देशन दिएको थियो। पार्टीको निर्देशनपछि दुवै सांसद उद्धारस्थलबाट काठमाडौं फर्किएका हुन्।

सांसद ढकाल र न्यौपाने दुवै इन्जिनियर हुन्। न्यौपाने सिभिल, जलस्रोत तथा टनेल इन्जिनियर हुन्। उनले पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। नागढुंगा सुरुङमार्ग र मेलम्ची खानेपानी आयोजनालगायतका सुरुङ निर्माण परियोजनामा काम गरेको अनुभव उनीसँग छ।

यस्तै, ढकाल मेकानिकल तथा जलविद्युत् र वाटर साइन्स इन्जिनियर हुन्। उनले पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ (जलविद्युत्) मा स्नातक तथा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट वाटर साइन्स, पोलिसी एन्ड म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।

आफ्नो प्राविधिक विज्ञताका आधारमा दुवै सांसद उद्धार कार्यमा सहयोग गर्न घटनास्थल पुगेका थिए। उनीहरूले उद्धारको प्रगति तथा स्थलगत अवस्थाबारे सामाजिक सञ्जालमार्फत नियमित जानकारीसमेत दिँदै आएका थिए।

तर, उद्धारमा खटिएका अन्य टोलीका सदस्यहरूले सांसदहरूको उपस्थितिले काममा असहजता भएको भन्दै ऊर्जामन्त्री समक्ष गुनासो गरेको समाचार सार्वजनिक भएपछि रास्वपाले आफ्ना सांसदलाई उद्धारस्थलबाट फर्किन निर्देशन दिएको थियो।

न्यौपानेले त्रिशूली–३ ‘ए’को प्रवेशद्वार खुलेपछि आफूहरू पैदल तथा सवारीसाधनमार्फत काठमाडौं फर्किएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन्। यसअघि उनले आफू लामो समयसम्म इन्जिनियरको भूमिकामा उद्धारस्थलमै खटिएको उल्लेख गर्दै अब सांसदको भूमिकामा जनसंवाद गर्दै विदुरसम्म पैदल जाने र त्यसपछि गाडीबाट काठमाडौं फर्किने बताएका थिए।

न्यौपानेले सुरुङभित्र दैनिक १८ घण्टासम्म खटिएर उद्धार तथा खोजी कार्यमा सहयोग गरेको दाबी गरेका छन्। अब सुरुङभित्रको उद्धार तथा प्राविधिक कामको जिम्मेवारी नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सम्हाल्ने अवस्था बनेकाले आफू फर्किएको उनको भनाइ छ।

यता, सांसद ढकालले भने उद्धारस्थलमा आफूहरूले सबैसँग सहकार्य गरिरहेको भए पनि सञ्चारमाध्यममा आफ्नो उपस्थितिलाई लिएर नकारात्मक धारणा बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिल्डमा सबैको सहयोग थियो, तर मिडियामा यति नकारात्मकता फैलाइयो कि काम गर्न केही हदसम्म डिस्टर्ब चाहिँ भयो। सिनियर पार्टी लिडर शुद्ध मिडियाकै लहैलहैमा लाग्नु पर्‍यो।’

ढकालले शुक्रबार बिहान प्रधानमन्त्री बालेन्द्र शाहप्रति समेत घुमाउरो असन्तुष्टि व्यक्त गरेका थिए। उनले सामाजिक सञ्जालमा ‘सदनमा सकिँदैन, सम्भव छैन भन्ने कुरा गरिरहँदा हामीले गरेर देखाउने चरणमा छौँ’ भन्दै आफूहरूको फिल्डमा भइरहेको कामप्रति संकेत गरेका थिए।

यसबीच, त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोलीले निरन्तर अघि बढाइरहेको छ।