दार्चुलामा पहिरो खस्दा चौलानी नदी आधा थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
Prime TV News १ हप्ता अगाडि 
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारस्थित चौलानी नदीमा पहिरो खस्दा नदीको बहाव आधा थुनिएको छ।
पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदी पूर्ण रूपमा थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको हो। प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले जारी गरेको सूचनामा विपद्को समयमा कुनै अप्रिय घटना भएमा वा उद्धार आवश्यक परेमा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।
पहिरोका कारण अपिहिमाल जाने पदमार्गमा समेत क्षति पुगेको छ। भटारबाट खायाकोट, ल्वाथी र लुम्चातर्फ जाने बाटो पनि पहिरोका कारण अवरुद्ध भएको प्रशासनले जनाएको छ। नदीमा पहिरो खस्ने क्रम नरोकिएकाले स्थानीय प्रशासनले अवस्थाको निगरानी गरिरहेको छ।
चौलानी नदीको तटीय क्षेत्रका बासिन्दालाई नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले सुरक्षित स्थानमा रहन र प्रशासनको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।







