नेपालसँग आपत्कालीन जलविज्ञान सूचना साझा गर्ने चीनको घोषणा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान सम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने भएको छ।
चिनियाँ दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार चीनको जलस्रोत मन्त्रालयले नेपाल सरकारसँग आपत्कालीन जलविज्ञानसम्बन्धी आवश्यक विवरण साझा गर्नेछ। दूतावासका अनुसार हिमतालको अवस्था, बाढीको जोखिम तथा विपद्का समयमा राहत र उद्धारसँग सम्बन्धित सूचना नेपालसँग आदानप्रदान गरिनेछ।
यसबाट सीमावर्ती क्षेत्रमा उत्पन्न हुन सक्ने जलजन्य विपद्को जोखिमबारे पूर्वसूचना र तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। गत १० भदौमा आएको बाढीपछि नेपाल र चीनबीच आपत्कालीन जलविज्ञान सूचना आदानप्रदानको विषय थप चर्चामा आएको थियो। बाढी तथा हिमतालसँग सम्बन्धित सूचना समयमै उपलब्ध गराउने विषयलाई नेपालले पनि महत्त्व दिँदै आएको छ।
चीनको पछिल्लो घोषणाले दुई देशबीच जलस्रोत तथा विपद् व्यवस्थापनका क्षेत्रमा सूचना आदानप्रदानलाई थप व्यवस्थित बनाउने संकेत गरेको छ। विशेषगरी सीमापार जलप्रवाहका कारण प्रभावित हुन सक्ने क्षेत्रका लागि यस्तो सूचना महत्वपूर्ण मानिन्छ। नेपाल र चीनबीच जलस्रोत, बाढी तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहकार्यलाई प्रभावकारी बनाउन आपत्कालीन सूचनाको समयमै आदानप्रदानलाई महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।







