इरानको पिकएक्स माउन्टेनमा चाँडै हमला गर्ने ट्रम्पको चेतावनी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नातान्ज परमाणु केन्द्रनजिक रहेको पिकएक्स माउन्टेनमा अमेरिकाले चाँडै हमला गर्न सक्ने चेतावनी दिएका छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त क्षेत्रमा गहिरा सुरुङसहितको किल्लाबन्द संरचना रहेको दाबी गरे। पिकएक्स माउन्टेन नातान्ज परमाणु केन्द्रनजिकै रहेको र त्यहाँ भूमिगत संरचना निर्माण गरिएको बताइँदै आएको छ।
इरानसँग जारी अमेरिकी सैन्य कारबाहीलाई ट्रम्पले ‘युद्ध’ नभई ‘सैन्य संघर्ष’को संज्ञा दिएका छन्। उनले यो संघर्ष अमेरिकाका लागि ठूलो विषय नभएको दाबी गर्दै हालसम्म १८ जना अमेरिकी सैनिकको मृत्यु भएको बताएका छन्।
ट्रम्पले इरानसँगको अवस्थालाई विगतको भियतनाम युद्धसँग तुलना गर्दै त्यसबेला अमेरिकाले ठूलो मानवीय क्षति व्यहोरेको स्मरण गराए। उनका अनुसार भियतनाम युद्धमा करिब एक लाख अमेरिकी नागरिक तथा सैनिकको ज्यान गएको थियो।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा जारी अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ भन्दा ‘सैन्य संघर्ष’का रूपमा बुझ्नुपर्ने बताएका थिए।
पिकएक्स माउन्टेनलाई इरानको परमाणु कार्यक्रमसँग जोडिएको भूमिगत संरचनाका रूपमा अन्तर्राष्ट्रिय रूपमा चर्चा गरिँदै आएको छ। इरानले भने उक्त स्थानमा परमाणु गतिविधि भइरहेको भन्ने दाबी अस्वीकार गर्दै आएको छ।







