आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली, पहाडी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।