चीन–नेपाल सीमा क्षेत्रमा बाढी र पहिरोमा ३१ जनाको मृत्यु, ५३१ बेपत्ता
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमा नजिकैको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।
स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रका अनुसार अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बाढीका कारण शुक्रबार साँझसम्म ३१ जनाको मृत्यु पुष्टि भएको हो। बाढीमा अझै ५३१ जना बेपत्ता रहेको उद्धार कमान्ड केन्द्रले जनाएको छ।
उद्धारका क्रममा प्रभावित क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान फेला परेका छन्। जी–२१६ उद्धार मार्गमा गरिएको निरीक्षणका क्रममा ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थलसमेत पहिचान गरिएको अधिकारीहरूले बताएका छन्।
प्रभावित तीन गाउँमा जोखिम मूल्याङ्कन तथा सम्भावित जोखिमको निरीक्षण पूरा गरिएको छ। स्थानीय बासिन्दाका लागि दुई वटा अस्थायी आपतकालीन आश्रयस्थल निर्माण गर्ने स्थानसमेत छनोट गरिएको छ।
सम्भावित थप विपत्का जोखिम पहिचान र रोकथामका लागि विभिन्न सरकारी निकायका अधिकारी तथा विज्ञहरू परिचालन गरिएको छ। चीनको विज्ञान प्रतिष्ठान र चीन सुरक्षा विज्ञान तथा प्रविधि प्रतिष्ठानसहितका संस्थाबाट १७२ जना विज्ञ तथा प्राविधिक जनशक्ति प्रभावित क्षेत्रमा खटिएका छन्।
हिमाली क्षेत्रमा बरफ र चट्टान खस्दा आएको पहिरोले गिरोङ बन्दरगाह आसपासका भवन, विद्युत् आपूर्ति प्रणाली तथा बन्दरगाहतर्फ जाने जी–२१६ राजमार्गको केही भागमा क्षति पुर्याएको थियो। सडक र पूर्वाधारमा भएको क्षतिले उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
कठिन भौगोलिक अवस्थाका बाबजुद चीनले हेलिकोप्टर, तीव्रगतिको उद्धार डुंगा र रबरका डुंगा प्रयोग गरी उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्याएको छ। स्थलगत उद्धार टोली १२ घण्टासम्म कठिन पहाडी बाटो पार गर्दै पैदल घटनास्थल पुगेका थिए।
उद्धार तथा राहत कार्यका लागि करिब २ हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन र ८ हजारभन्दा बढी उपकरण परिचालन गरिएको छ। त्यस्तै, ८०० भन्दा बढी ड्रोन उडान र २४ वटा हेलिकोप्टर उडानमार्फत खोज तथा उद्धार कार्य जारी राखिएको छ।







