दक्षिण कोरियाली विदेशमन्त्री चो तीनदिने भ्रमणमा नेपाल आइपुगे

User Image Prime TV News १ हप्ता अगाडि
Image of दक्षिण कोरियाली विदेशमन्त्री चो तीनदिने भ्रमणमा नेपाल आइपुगे

काठमाडौ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन्।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपाल–दक्षिण कोरिया सम्बन्धका साथै पछिल्लो समय रसुवामा भएको बाढी तथा पहिरोका विषयमा छलफल हुने बताइएको छ।

गत अगस्ट २६ मा रसुवामा आएको भीषण बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका थिए। बेपत्तामध्ये छ जना दोसान एनर्बिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी रहेको बताइएको छ।

विदेशमन्त्री चोले नेपाली पक्षसँग बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वयका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

नेपाल भ्रमणका क्रममा उनले बेपत्ता दक्षिण कोरियाली नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ। साथै, बाढी तथा पहिरो प्रभावित क्षेत्रको राहत, उद्धार र पुनःस्थापनाका प्रयासबारे पनि नेपाली पक्षसँग छलफल गर्नेछन्।

भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग तथा विपद्का समयमा सहकार्य बढाउने विषयमा समेत छलफल हुने बताइएको छ। दक्षिण कोरियाली विदेशमन्त्रीको भ्रमणलाई विपद्का बेला दुई देशबीचको समन्वय थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।