काजकिरिया सुरु भइसकेपछि ११औँ दिनमा जीवित भेटिइन् चण्डिका

User Image Prime TV News १ हप्ता अगाडि
Image of काजकिरिया सुरु भइसकेपछि ११औँ दिनमा जीवित भेटिइन् चण्डिका

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठ बाढी आएको आठ दिनसम्म सम्पर्कमा नआएपछि परिवारले उनको मृत्यु भएको निष्कर्ष निकाल्दै कुशको शव बनाएर काजकिरिया सुरु गरेको थियो। तर, काजकिरिया चलिरहेका बेला उद्धारकर्ताले उनलाई जीवितै फेला पारेका हुन्।

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट चण्डिकालाई अर्धचेत अवस्थामा उद्धार गरेको हो।

उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ।

बाढी आउँदा चण्डिका र उनका श्रीमान् घरभित्रै थिए। बाढीले साढे चार तल्लाको घर नै बगाएर त्रिशूली नदीको किनारमा पुर्‍याएको परिवारले जनाएको छ।

चण्डिकाका आफन्तले बेत्रावती र त्रिशूली नदीको किनारमा लगातार खोजी गरेका थिए। तर, आठ दिनसम्म पनि उनको कुनै जानकारी नपाएपछि परिवार निराश भएको थियो। कठिन भौगोलिक अवस्था र दलदलका कारण उद्धार टोलीलाई समेत खोजीमा समस्या भएको थियो।

परिवारले त्यसपछि काठमाडौंको सानो भर्‍याङस्थित घरमा कुशको शव बनाएर काजकिरिया सुरु गरेको थियो। तर, परिवारका सदस्य रमेशमान श्रेष्ठले भने चण्डिका जीवित हुन सक्ने आशा अझै राखेका थिए। उनले घरमा सुरक्षित स्थानमा बसेर बाँचिरहेको हुन सक्ने अनुमान गर्दै पुनः खोजी गर्नुपर्ने बताउँदै आएका थिए।

काजकिरिया सुरु गरेको केही दिनपछि ११औँ दिनमा चण्डिका जीवितै फेला परेको खबर परिवारसम्म पुगेको थियो। खबर पाएलगत्तै उनका आफन्त अस्पताल पुगेका छन्।

चिकित्सकले केही समयसम्म बिरामीलाई भेट्न नदिने बताएपछि आफन्त बाहिरैबाट उनको अवस्था बुझेर बसिरहेका छन्। चण्डिकाको जीवितै उद्धार भएपछि परिवारमा लामो समयपछि खुसी फर्किएको छ।