भोटेकोसी बाढीमा बेपत्ता आफन्तको डीएनए नमुना दिन प्राधिकरणको आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of भोटेकोसी बाढीमा बेपत्ता आफन्तको डीएनए नमुना दिन प्राधिकरणको आग्रह

काठमाडौ । भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा अन्य नागरिकका नजिकका आफन्तलाई डीएनए नमुना उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले शनिबार सूचना जारी गर्दै बाढीपछि फेला नपरेका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण गर्न लागिएको जनाएको हो।

प्राधिकरणका अनुसार डीएनए नमुना संकलनका लागि बेपत्ता व्यक्तिका सबैभन्दा नजिकका रगतका नातेदारमध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाले नमुना उपलब्ध गराउन सक्नेछन्।

नजिकका आफन्तलाई दुई प्रति पासपोर्ट आकारको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

यसैबीच, भोटेकोसी बाढीपछि क्षतिग्रस्त त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

नेपाली सेना तथा प्राविधिक टोलीको सहयोगमा सुरुङभित्र खोज तथा उद्धारको प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।