राप्रपा बागमतीमा सांसदबीच कारबाहीको होड
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती प्रदेशसभामा सांसदहरूबीच एकअर्कालाई कारबाही गर्ने क्रम सुरु भएको छ।
एमाले र नेकपा गठबन्धन सरकारलाई समर्थन गर्ने विषयमा उत्पन्न विवादले राप्रपाको प्रदेशसभा संसदीय दल विभाजित भएपछि विवाद थप चर्किएको हो।
एमालेलाई समर्थन गरेर सरकारमा जाने पक्षमा संसदीय दलका नेता उद्धव थापा र प्रमुख सचेतक डम्बर तामाङसहित बहुमत सांसद उभिएका थिए। त्यसको विपक्षमा पाँच जना सांसद रहेका थिए।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष एमाले नेतृत्वको गठबन्धनको विपक्षमा उभिएपछि पार्टी केन्द्रले संसदीय दलका नेता थापासहित गठबन्धनको पक्षमा रहेका सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो।
भदौको पहिलो साता अध्यक्ष लिङ्देनले थापासहित पाँच जना सांसदलाई निष्कासन गरिएको जानकारी सहितको पत्र प्रदेशसभामा पठाएका थिए। सभामुखलाई सम्बोधन गरेर पठाइएको उक्त पत्र उपसभामुख अप्सरा चापागाईंले बुझे पनि कारबाहीसम्बन्धी सूचना भने प्रदेशसभामा टाँसिएको थिएन।
त्यसको केही समयपछि थापाको नेतृत्वमा बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देन पक्षका पाँच जना सांसदलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
राप्रपाका महामन्त्रीसमेत रहेका भुवन पाठकसहित आशा लामा, कुमारी तामाङ, लक्ष्मी घिमिरे र धनेश्वरी प्रजापतिलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको छ।
भदौ १७ गते बसेको संसदीय दलको बैठकले उनीहरूलाई मुख्यमन्त्री किरण थापाले प्रदेशसभामा मागेको विश्वासको मतका क्रममा पार्टीको ह्वीप उल्लंघन गरेको आरोप लगाएको छ।
उनीहरू भदौ ९ गते विश्वासको मतसम्बन्धी मतदानमा प्रदेशसभा बैठकमा अनुपस्थित भएको आरोपमा स्पष्टीकरण सोधिएको हो। संसदीय दलले भदौ १८ गते पत्र पठाउँदै पाँचै जनालाई ७२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
यससँगै राप्रपाको बागमती प्रदेशसभामा पार्टीको आन्तरिक विवाद सार्वजनिक रूपमा छताछुल्ल भएको छ। एउटै पार्टीका सांसदहरूबाट एकअर्काविरुद्ध कारबाही प्रक्रिया अघि बढेपछि प्रदेशसभामा राप्रपाको भूमिका थप अन्योलमा परेको छ।







