देवीघाटमा ६० मिटर लामो एक्रो ब्रिज निर्माण सुरु
Prime TV News १ हप्ता अगाडि 
नुवाकोट । भोटेकोसी बाढीले तादी नदीमाथिको पक्की पुल बगाएपछि नुवाकोटको देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण सुरु गरिएको छ।
विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले फलामे ‘एक्रो ब्रिज’ निर्माण थालेको हो। पुल निर्माणका लागि नेपाली सेनाका इन्जिनियर तथा फौजसहित ५५ जनाको टोली परिचालन गरिएको छ।
भदौ १० गते आएको भीषण बाढीले तादी नदीमाथिको पक्की पुल बगाएपछि देवीघाट क्षेत्रमा आवतजावत प्रभावित भएको थियो। त्यसलाई सहज बनाउन नेपाली सेनाले अस्थायी पुल निर्माण अघि बढाएको हो।
नेपाली सेनाका अनुसार अबको केही दिनमै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ। पुल सञ्चालनमा आएपछि देवीघाट क्षेत्रमा पैदल आवतजावतसँगै सवारीसाधन सञ्चालन पनि सहज हुने अपेक्षा गरिएको छ।







