थेराङ खोलाको बाढीले चार घर र पुल बगायो
Prime TV News १ हप्ता अगाडि 
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलामा आएको बाढीले चार घर र एउटा झोलुङ्गे पुल बगाएको छ।
आज बिहान आएको बाढीले चुमनुब्री–४ का नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आउन लागेको जानकारी पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
बाढीले सोही क्षेत्रमा रहेको झोलुङ्गे पुलसमेत बगाएको छ। पुल बगाएपछि मनास्लु पदयात्रामा रहेका पर्यटकलाई आवतजावतमा समस्या पर्ने भएको छ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले तत्कालका लागि स्थानीयको पहलमा पैदल हिँड्न मिल्ने वैकल्पिक व्यवस्था गर्न सकिने बताएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानतिर केही समय पानी थुनिएपछि लेदोसहितको बाढी आएको थियो। थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बाढीको जोखिमलाई ध्यानमा राख्दै बूढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।







