युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको कूटनीतिक पहल तीव्र
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाले कूटनीतिक पहललाई तीव्र बनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष वार्ताकार स्टिभ विटकफ र जारेड कुशनरले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।
क्रेमलिनले सार्वजनिक गरेको भिडियोमा विटकफ र कुशनरले पुटिनसँग भेट गरी अभिवादन गरेको देखिन्छ। भेटका क्रममा पुटिनले युक्रेन युद्धको वर्तमान अवस्था सहज नरहेको बताएका थिए।
उनले रुसले युद्धको परिस्थितिलाई कसरी हेरिरहेको छ भन्नेबारे अमेरिकी प्रतिनिधिलाई जानकारी दिने बताएका छन्। भेटमा विटकफले रुस र युक्रेनबीच तीन दिनका लागि एकअर्काको राजधानीमा आक्रमण रोक्ने सहमति भएकोमा पुटिनलाई धन्यवाद दिएका थिए।
अमेरिकी वार्ताकारहरू आइतबार थप छलफलका लागि युक्रेनको राजधानी किएभ जाने कार्यक्रम रहेको बताइएको छ। क्रेमलिनका अनुसार पुटिनले अमेरिकी प्रतिनिधिहरूसँगको सम्पर्क उपयोगी रहेको बताएका छन्।
उनले शान्ति स्थापनाका लागि ट्रम्पले गरिरहेको प्रयासप्रति धन्यवाद दिँदै अमेरिकी वार्ताकारसँग काम गर्न आफू सहज रहेको बताएका थिए। रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिन र अमेरिकी प्रतिनिधिबीचको बन्द बैठक करिब तीन घण्टा चलेको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि शनिबार अमेरिकी राष्ट्रपतिका प्रतिनिधिसँग कुराकानी भएको बताएका छन्। उनले अमेरिकी प्रतिनिधिहरूले रुसी पक्षसँग वार्ता अघि बढाइरहेको जानकारी दिएका छन्।
जेलेन्स्कीले वार्ता प्रक्रियामा सहभागी शहरहरूमा हवाई आक्रमण रोक्न युक्रेन तयार रहेको बताएका छन्। अमेरिकी मध्यस्थतामा पछिल्लो समय रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि कूटनीतिक गतिविधि बढे पनि युद्धविराम, क्षेत्रीय विवाद र दुवै पक्षका सुरक्षा चासोलगायत विषयमा सहमति जुटाउन चुनौती कायमै छ।







