चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ६ जना फसेको आशंका, उद्धारका लागि टोली परिचालन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त बनेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको जानकारी प्राप्त भएको छ।
प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार बाढीपछि आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना आएको हो। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका दुई जनाको सफल उद्धार गरेर फर्किएका न्यौपाने चिलिमे आयोजनातर्फ प्रस्थान गरेका छन्।
उनले आफ्नो उद्धारसम्बन्धी अनुभव र प्राविधिक ज्ञान प्रयोग गरी आवश्यक सहयोग गर्ने बताएका छन्। न्यौपानेले सामाजिक सञ्जालमार्फत आफू उद्धार कार्यबारे आवश्यक जानकारी लिने, अवस्थाको निरीक्षण गर्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परे प्रत्यक्ष रूपमा उद्धारमा खटिने उद्देश्यले चिलिमे जान लागेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीपछि चिलिमे जलविद्युत् आयोजनाबाट ६ जना सम्पर्कविहीन छन्। आयोजनाको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा बाढीपछि अन्य कर्मचारी तथा कामदारहरू सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएको इप्पानले जनाएको छ।
सुरुङभित्र रहेका भनिएका ६ जनाको अवस्था यकिन गर्न तथा उनीहरूको उद्धारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।







