भोटेकोशी बाढीमा १ हजार ३४१ शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ठूलो मानवीय क्षति भएको छ।
बाढीपछि हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला र ५२३ पुरुष छन्।
यस्तै, ४९३ वटा शव पहिचान गर्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन्। सम्पर्कविहीनमध्ये २ हजार ८६३ स्वदेशी पुरुष, ५७५ स्वदेशी महिला तथा विदेशी नागरिकतर्फ २६९ पुरुष र ३३२ महिला रहेका छन्। अन्य पाँच जना पनि सम्पर्कविहीन सूचीमा छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि सुरक्षा निकाय निरन्तर परिचालित भइरहेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।
बाढीपछि हालसम्म ९ हजार १५१ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।
सनाखतका लागि डीएनए नमूना सङ्कलन
बेपत्ता तथा मृतकको पहिचानका लागि प्रहरीले डीएनए नमूना सङ्कलनलाई प्राथमिकतामा राखेको छ। हालसम्म मृतक १ हजार २८६ जना र मृतकका आफन्त १ हजार १८६ जनासहित २ हजार ४७२ जनाको डीएनए नमूना सङ्कलन गरिएको छ।
प्रहरी प्रवक्ता काफ्लेका अनुसार बेपत्ताको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डीएनए नमूना सङ्कलनको कामलाई तीव्रता दिइएको छ। भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बेपत्ताको खोजी, उद्धार, शव पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र विभिन्न सरकारी निकाय निरन्तर परिचालन भइरहेका छन्।







