कांग्रेसको वडा अधिवेशन एक साता पछि सार्ने तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसको वडा अधिवेशन एक साता पछि सार्ने तयारी

काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन एक साता पछि सार्ने तयारी भएको छ।

यस विषयमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने भएको छ। सभापति गगन थापाले दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत् राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका केही दिन पछाडि धकेल्ने तयारी गरिएको हो।

कांग्रेसले यसअघि आगामी बुधबार वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। तर बाढीपहिरोका कारण अवरुद्ध सडक, पार्टीभित्र भइरहेको आन्तरिक छलफल तथा तीज पर्वलाई ध्यानमा राख्दै वडा अधिवेशन एक साता सार्ने तयारी गरिएको कार्यसम्पादन समितिका एक सदस्यले बताए।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कांग्रेसले पार्टी पंक्तिलाई उद्धार तथा राहतमा परिचालन गर्ने निर्णय गरेको थियो। बाढी तथा त्यसपछि परेको वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध हुँदा अधिवेशन सञ्चालनमा समेत समस्या देखिएको नेताहरूको भनाइ छ।

यसबीच महाधिवेशनलाई सहमतिका साथ अघि बढाउने विषयमा पार्टीभित्र आन्तरिक छलफलसमेत जारी छ। संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का तथा नेता डा. शेखर कोइरालासँग संवाद गरिरहेको बताइएको छ।

तीजका कारण पनि कार्यतालिका प्रभावित

कांग्रेसको तल्लो तहको अधिवेशनको कार्यतालिका हरितालिका तीजसँग पनि जुधेको छ। यस वर्ष तीज भदौ २९ गते परेको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ २७ गते गाउँ/नगर अधिवेशन तथा भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने मिति तोकिएको थियो।

महिला प्रतिनिधि तथा पार्टीका सदस्यहरूको चाडपर्वलाई ध्यानमा राखेर पनि वडा अधिवेशनको मिति केही दिन पछाडि सार्नुपर्ने अवस्था आएको नेताहरूले बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने मिति यसअघि नै तय गरिएको छ। संस्थापन पक्ष भने तल्लो तहको कार्यतालिका समायोजन गरेर भए पनि केन्द्रीय महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने तयारीमा छ।

यता कांग्रेसको अर्को पक्षले भने महाधिवेशन मंसिरमा गर्नुपर्ने धारणा राख्दै आएको छ। महाधिवेशनसम्बन्धी विवादका केही विषय अदालतमा समेत विचाराधीन छन्। संस्थापन पक्षका एक शीर्ष नेताका अनुसार केन्द्रीय महाधिवेशनको मिति तत्काल सार्ने अवस्था छैन।

यद्यपि अदालतमा विचाराधीन पुनरावलोकनका दुवै रिट फिर्ता लिएर पार्टीभित्र सहमतिको वातावरण बनेमा महाधिवेशनको मिति केही पर सार्ने सम्भावना खुला रहेको उनको भनाइ छ। यससँगै आइतबार बस्ने कार्यसम्पादन समितिको बैठकले वडा अधिवेशनसहित तल्लो तहका अधिवेशनको नयाँ कार्यतालिकाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।