अमेरिकाले नेपाल यात्रा सुझाव सच्यायो, रसुवाका केही क्षेत्रमा ‘यात्रा नगर्न’ चेतावनी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धी आफ्नो यात्रा सुझाव (ट्राभल एडभाइजरी) अद्यावधिक गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘लेभल–२ : बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। यद्यपि, रसुवा जिल्लाका केही प्रभावित क्षेत्रलाई भने ‘लेभल–४ : यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ।
अमेरिकी विदेश मन्त्रालयले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी सडकखण्ड तथा नेपाल–चीन सीमा क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ। ठूलो बाढी र पहिरोका कारण उक्त क्षेत्रमा सडक, यातायात तथा सञ्चार पूर्वाधारमा व्यापक क्षति पुगेको र अझै खोजी, उद्धार तथा पुनःस्थापनाको काम जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ।
यात्रा सुझावमा प्रभावित क्षेत्रमा थप बाढी तथा पहिरोको जोखिम कायमै रहेको उल्लेख गरिएको छ। भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीसमेत जोखिमयुक्त क्षेत्रमा पर्ने जनाइएको छ। अमेरिकी विदेश मन्त्रालयले यात्रुलाई नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन सुझाव दिएको छ।
त्यस्तै, नेपाली अधिकारीले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा निर्देशनको पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरिएको छ। बेपत्ता आफन्त वा व्यक्तिको खोजी गर्ने नाममा सर्वसाधारण वा विदेशी नागरिक आफैं विपद् प्रभावित क्षेत्रमा प्रवेश नगर्नसमेत अमेरिकी सरकारले चेतावनी दिएको छ।
अमेरिकी यात्रा सुझावमा नेपाललाई नियमित रूपमा भूकम्प, बाढी र पहिरोको जोखिममा रहने मुलुकका रूपमा उल्लेख गरिएको छ। भूकम्प अचानक र पूर्वसूचनाबिनै आउन सक्ने भन्दै काठमाडौं उपत्यकासमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण आकस्मिक बाढी र पहिरो आउन सक्ने तथा त्यसले सडक अवरुद्ध गर्नुका साथै भवन र पूर्वाधारमा क्षति पुर्याउन सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। विपद्का बेला उद्धार तथा आपत्कालीन सहायता प्राप्त गर्नसमेत कठिन हुन सक्ने उल्लेख गरिएको छ







