सभापति गगन थापाले खड्का र शेखर कोइरालासँग गरे छुट्टाछुट्टै छलफल

User Image Prime TV News १ हप्ता अगाडि
Image of सभापति गगन थापाले खड्का र शेखर कोइरालासँग गरे छुट्टाछुट्टै छलफल

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार थापाले शनिबार पूर्वउपसभापति खड्कासँग र आइतबार नेता कोइरालासँग भेटवार्ता गरेका हुन्। आसन्न १५औँ महाधिवेशन तथा बाढीपछि राहत र पुनर्निर्माणलगायत विषयमा छलफल गर्न थापाले दुवै नेतासँग संवाद गरेका हुन्।

कांग्रेसका ती पदाधिकारीले सभापति थापाले खड्का र कोइरालासँग भेट्ने पूर्वयोजना नै रहेको बताए। भेटमा भएका छलफलका विषय कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले जानकारी गराउने उनको भनाइ छ।

कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा आसन्न महाधिवेशनको तयारीसँगै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका विषयमा छलफल हुने बताइएको छ। खड्का र कोइरालासँगको संवादलाई निरन्तरता दिँदै पार्टीको वडा तहको अधिवेशन करिब एक साता पछि सार्ने तयारी गरिएको छ।

तर केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन नगर्ने गरी तल्लो तहको अधिवेशन कार्यतालिका समायोजन गर्न लागिएको नेताहरूले बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन मंसिरमा गर्ने गरी अघि सारेको कार्यतालिकाप्रति भने खड्का र कोइराला सहमत देखिएका छैनन्। देउवा पक्षले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गर्ने बैठकमा समेत खड्का र कोइराला सहभागी भएका थिएनन्। त्यस्तै, देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको अन्तिम दिनमा पनि दुवै नेता सहभागी नभएको बताइएको छ।

यसबीच सभापति थापाले दुवै पक्षसँग संवाद बढाएर महाधिवेशनलाई सहमतिका साथ अघि बढाउने प्रयास गरिरहेका छन्। कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका र पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे थप निर्णय गर्ने अपेक्षा गरिएको छ।