कृष्णभीरमा सडक अवरुद्ध भएपछि बाइरोडबाट काठमाडौं ल्याइँदै पेट्रोलियम र ग्यास

User Image Prime TV News १ हप्ता अगाडि
Image of कृष्णभीरमा सडक अवरुद्ध भएपछि बाइरोडबाट काठमाडौं ल्याइँदै पेट्रोलियम र ग्यास

काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौंमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सुरु गरेको छ।

निगमका अनुसार काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) हुँदै पेट्रोलियम पदार्थ र एलपी ग्यास भित्र्याइएको हो। भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको सडकखण्ड भत्किएपछि इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए।

त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर काठमाडौं ल्याउन थालेको जनाएको छ। निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० सिलिन्डर र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर एलपी ग्यास काठमाडौं उपत्यकामा भित्र्याइएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो क्षति भएपछि जारी खोज तथा उद्धार अभियानमा समेत निगमले इन्धन तथा ग्यास उपलब्ध गराइरहेको जनाएको छ।

उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गरिएको निगमले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा बाढी प्रभावित रसुवा र नुवाकोटका अस्थायी सेल्टरमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको पनि निगमले जनाएको छ।

बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या आउन नदिन निगमले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्थालाई निरन्तरता दिएको हो।