साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौ । नेपालले लगातार तेस्रो जित निकाल्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै अन्तिम चारमा पुगेको हो। साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुल्शन झाले अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेल २४ रनमा नटआउट रहे।

त्यसअघि इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रनको योगदान दिए। साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २–२ तथा मोहम्मद हिशमले १ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो।

साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए। मोहम्मद आतिफले ३० तथा मोहम्मद हिशम शेखले १८ रन जोडे। नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशीले १० ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट हात पारे। शेर मल्लले १ विकेट लिए।

नेपालले प्रतियोगितामा यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलपछि समूह विजेताको टुंगो लाग्नेछ।