राप्रपाका महामन्त्री शरदराज पाठकले पार्टी छाडे
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्।
पाठकले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको घोषणा गरेका हुन्। पाठकका अनुसार राप्रपालाई समयानुकूल पुनर्सरचना गर्दै सुशासनप्रति इमानदार र प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका नागरिकले भरोसा गर्न सक्ने राजनीतिक दलका रूपमा रूपान्तरण गर्ने उद्देश्यसहित उनले करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
तर राप्रपासँग एकताका क्रममा तय गरिएको आधारअनुसार आफूले अपेक्षा गरेजस्तो ठोस काम हुन नसकेको भन्दै उनले पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। पाठकले पार्टी परित्यागको घोषणासँगै राप्रपाभित्र विचार र व्यवहारबीच ठूलो अन्तर रहेको आरोप लगाएका छन्।
‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई पार्टीले मूलमन्त्र माने पनि त्यसअनुसारको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव रहेको उनको टिप्पणी छ। उनले राप्रपाभित्रको आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण पार्टी थप कमजोर बन्दै गएको बताएका छन्।
पाठकका अनुसार पार्टीको केन्द्रीय तहमा देखिएको आन्तरिक संघर्ष र गुटगत स्वार्थले नयाँ पुस्ताका इमानदार, शिक्षित तथा सचेत युवालाई आकर्षित गर्न नसक्ने अवस्था सिर्जना भएको छ । पार्टीभित्रको विद्यमान परिस्थितिमा आफू र आफूजस्तै नयाँ जोडिएका नेताहरूले अपेक्षित परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखिएको पाठकले बताएका छन्।
उनले पार्टीको अवस्थाप्रति असन्तुष्टि जनाउँदै यसमा आफ्ना कमजोरी पनि हुन सक्ने स्वीकार गरेका छन्। पाठक पूर्वराप्रपा नेता रवीन्द्र मिश्रसँगै राप्रपामा प्रवेश गरेका थिए। पछिल्लो समय राप्रपाभित्र देखिएको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीबाट अलग हुने निर्णय गरेका हुन्।







