भोटेकोशी बाढीपीडितका लागि राखिएका राहत सामग्रीमै म्याद गुज्रेका खाद्यवस्तु

User Image Prime TV News १ हप्ता अगाडि
Image of भोटेकोशी बाढीपीडितका लागि राखिएका राहत सामग्रीमै म्याद गुज्रेका खाद्यवस्तु

काठमाडौ । भोटेकोशी बाढीपीडितलाई वितरण गर्न तयारी अवस्थामा राखिएका राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको छ।

विपद्मा परेका नागरिकलाई पठाउन तयारी गरिएका चामल, आटा, भुजा, चिप्सलगायत खाद्य सामग्री म्याद गुज्रिएको तथा उपभोग गर्न अयोग्य अवस्थामा फेला परेका हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंको संयुक्त टोलीले काठमाडौंका विभिन्न पाँच भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य फेला पारेको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा सरकारी कार्यालयदेखि प्रहरी तालिम केन्द्रसम्मका भण्डारणस्थलमा म्याद सकिएका खाद्य सामग्री फेला परेका हुन्। अनुगमनका क्रममा बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा राहत वितरणका लागि प्याकिङ गर्न तयारी अवस्थामा राखिएका सामग्रीमध्ये यशोदा फुड्स प्रालि, रुपन्देहीको ‘करेन्ट चिप्स’ र गिरिधारी फुड प्रडक्ट, बुटवलको ‘भुजा’ म्याद गुज्रिएको अवस्थामा फेला परेको छ।

टोलीले ३० थान करेन्ट चिप्स र २१ बोरा भुजा वितरणमा रोक लगाउँदै छुट्टै ‘एक्स्पायर्ड जोन’मा राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ। सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा भण्डारण गरिएका राहत सामग्रीमध्ये दुई प्याकेट अर्थात् १८ पिस चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद सकिएको अवस्थामा भेटिएको छ।

त्यहीँ भण्डारण गरिएको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन दुई दिन मात्र बाँकी रहेको समेत अनुगमनका क्रममा खुलेको छ। विभागले म्याद सकिएका सामग्रीसँगै छोटो समयमै म्याद सकिन लागेका उक्त दालमोठलाई समेत पीडितलाई वितरण गर्न रोक लगाएको छ । 

सामाखुसीस्थित राधा स्वामी सत्सङको भण्डारणस्थलमा गरिएको अनुगमनका क्रममा जयश्री उसिना चामलको २५ किलोको एक बोरा म्याद गुज्रिएको अवस्थामा फेला परेको छ। वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार राहत संकलन तथा प्याकेजिङ भइरहेका स्थानमा म्याद सकिएका खाद्य वस्तु अन्य राम्रो अवस्थामा रहेका सामग्रीसँगै वितरणका लागि तयारी अवस्थामा राखिएको पाइएको हो।

विभागले राहत सामग्रीका रूपमा म्याद गुज्रेका खाद्य वस्तु वितरण गर्नु गम्भीर लापरबाही भएको जनाएको छ। विपद्बाट पहिले नै प्रभावित तथा आर्थिक रूपमा कमजोर नागरिकलाई म्याद सकिएका खाद्य सामग्री उपलब्ध गराउँदा उनीहरूको स्वास्थ्यमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले त्यस्ता सामग्रीको वितरण तत्काल रोकिएको विभागले जनाएको छ।

अनुगमन टोलीले म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त सामग्री छुट्याएर सुरक्षित व्यवस्थापन तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।