महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका जाने, १०–११ सदस्यीय टोलीको तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका जाने, १०–११ सदस्यीय टोलीको तयारी

काठमाडौ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने भएपछि नेपाली टोलीको तयारी सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी अघि बढाएका छन्। सरकारले प्रधानमन्त्रीको अमेरिका भ्रमणको औपचारिक घोषणा भने गरिसकेको छैन। तर परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह महासभामा सहभागी हुने निश्चित भइसकेको छ।

यसपटक प्रधानमन्त्रीले विगतका तुलनामा निकै सानो टोली लिएर अमेरिका जाने तयारी गरेका छन्। प्रधानमन्त्रीको टोलीमा करिब १० देखि ११ जना रहने बताइएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू सुभाष शर्मा र प्रदीप पजियार, फोटोग्राफर विनय शाक्य तथा शिष्टाचार (प्रोटोकल) प्रमुख सहभागी हुनेछन्।

यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा जाने पाँच सदस्यीय टोलीबारे मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ। परराष्ट्रमन्त्री खनालको टोलीमा मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, राष्ट्रसङ्घ मामिला हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल रहनेछन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने सदस्यको अन्तिम नामावली भने अझै टुंगो लाग्न बाँकी रहेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। सम्बोधनभन्दा एक–दुई दिनअघि अमेरिका पुग्ने र सम्बोधनलगत्तै नेपाल फर्कने गरी भ्रमण तालिका तयार पारिँदै छ। भ्रमणको अन्तिम मिति तथा सहभागीको नामावलीबारे भने आन्तरिक छलफल जारी छ।

यसअघि ७८औँ महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ सदस्यीय नेपाली टोलीको नेतृत्व गरेका थिए। ७९औँ महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय टोली सहभागी भएको थियो।

८०औँ महासभाका बेला नेपालमा जेनजी आन्दोलन चर्किएका कारण तत्कालीन प्रधानमन्त्री सुशीला कार्की व्यस्त रहेकाले उच्चस्तरीय टोली अमेरिका जान सकेको थिएन। त्यसबेला संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर क्षेत्रीले नेपाली टोलीको नेतृत्व गरेका थिए।

८१औँ महासभामा सुरुमा परराष्ट्रमन्त्री खनालले नै नेपाली टोलीको नेतृत्व गर्ने तयारी थियो। तर भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुने तयारीमा अघि बढेका हुन्।

प्रधानमन्त्रीस्तरबाटै महासभालाई सम्बोधन गर्दा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद् र क्षतिको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी रूपमा उठाउन सकिने सुझावपछि शाह अमेरिका जान तयार भएको जानकारहरूको भनाइ छ।

महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका बाढी, पहिरो तथा अन्य विपद्, त्यसबाट भएको जनधनको क्षति र जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।