महाधिवेशन नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

User Image Prime TV News १ हप्ता अगाडि
Image of महाधिवेशन नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

काठमाडौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशनको प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन्।

महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुनबाट कसैले रोक्न नसक्ने उनको चेतावनी छ। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले कांग्रेसको एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए।

लेखकले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति हटाइएका कारण अहिलेको विवाद उत्पन्न भएको दाबी गरे। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका दुवै कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ । लेखकले वर्तमान सभापति गगन थापालाई पदबाट हटाउने आफ्नो पक्षको माग नरहेको स्पष्ट पारे।

उनका अनुसार १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा समेटिन नसकेका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गर्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेका छन्। त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था आए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको लेखकले बताए।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट कम्तीमा एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूको रहेको उनले जानकारी दिए।

‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने। पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अझै पनि विवाद समाधानको सम्भावना रहेको बताए।

उनले दुवै पक्षले आ–आफ्नो ठाउँबाट महाधिवेशनको प्रक्रिया रोक्नुपर्नेमा जोड दिए। ‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने।

लेखकले अदालतको फैसला पर्खेर मात्रै अघि बढ्नुपर्ने धारणा पनि राखे। आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेको उल्लेख गर्दै अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आए पनि त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा बुझ्न नहुने उनको भनाइ छ।

लेखकले कांग्रेस विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशन प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्ने चेतावनी दिए। पार्टीलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा आफूले महाधिवेशन रोक्न आग्रह गरिरहेको उनले बताए। कांग्रेसको एकता कायम राख्न अझै पनि संवाद र सहमतिबाट समाधान खोज्न सकिने उनको भनाइ छ।