भोटेकोशी बाढीपछि उद्धारसँगै विद्युत् पुनर्स्थापनामा जुट्यो ऊर्जा मन्त्रालय

User Image Prime TV News १ हप्ता अगाडि
Image of भोटेकोशी बाढीपछि उद्धारसँगै विद्युत् पुनर्स्थापनामा जुट्यो ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन श्रमिकको खोजी र उद्धारसँगै विद्युत् आपूर्ति पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई समानान्तर रूपमा अघि बढाएको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका जलविद्युत् आयोजना, प्रसारण संरचना र विद्युत् आपूर्ति प्रणालीमा ठूलो क्षति पुगेपछि मन्त्रालयले उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) गठन गरेर काम अघि बढाएको हो।

संयन्त्रमा मन्त्रालयका सचिव, विभाग तथा महाशाखा प्रमुख, नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीलगायत सहभागी छन्। संयन्त्रले उद्धार, राहत, विद्युत् पुनर्स्थापना तथा क्षति व्यवस्थापनका काममा समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

बाढी आएको दिनदेखि नै प्रभावित जलविद्युत् आयोजनाको अवस्था, सम्पर्कविहीन कर्मचारी तथा कामदार, उद्धारमा प्रयोग भएका उपकरण र हालसम्मको प्रगतिको विवरण संकलन तथा अभिलेखीकरण भइरहेको मन्त्रालयले जनाएको छ।

अब उद्धार तथा पुनर्स्थापनाको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुने गरी ‘रियल टाइम अपडेट सिस्टम’ निर्माण गर्न थालिएको छ। यस प्रणालीमार्फत कुन आयोजनामा के काम भइरहेको छ, कुन उपकरण परिचालन भएका छन् र उद्धारको अवस्था कस्तो छ भन्ने विवरण एकीकृत रूपमा अनुगमन गर्न सकिने मन्त्रालयको भनाइ छ।

उद्धार कार्यका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना तथा अन्य सुरक्षा निकायसँग समन्वय भइरहेको छ। प्रभावित जलविद्युत् आयोजनामा आवश्यक प्राविधिक जनशक्ति, एक्स्काभेटर, ड्रिलिङ मेसिन, सवारीसाधनलगायत उपकरण परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

बाढीपछि विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा वैकल्पिक प्रणालीबाट सेवा सञ्चालन गर्ने कामलाई समेत प्राथमिकता दिइएको छ। मन्त्रालयका अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापित भइसकेको छ भने रसुवामा पनि विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम जारी छ।

दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुँदा तत्काल उज्यालो र सञ्चारको समस्या समाधान गर्न वैकल्पिक ऊर्जाको व्यवस्था पनि अघि बढाइएको छ।पहिलो चरणमा २ किलोवाट क्षमताका संस्थागत सोलार प्रणाली तथा २० वाट क्षमताका ५०० थान सोलार सेट प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

उद्धारका लागि मन्त्रालयले सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ कामदार तथा माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलमा फसेका व्यक्तिसहित करिब ३५० मजदुर तथा स्थानीयको उद्धार गरिसकेको छ।

यद्यपि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा अझै सम्पर्कविहीन रहेकाहरूको खोजी चुनौतीपूर्ण बनेको छ। रसुवागढी जलविद्युत् आयोजनामा पनि नेपाली सेनासँग समन्वय गरी उद्धार तथा खोजी कार्य जारी छ। आयोजनाका अनुसार भदौ २० गते सेनाको टोली चारवटा हेलिकप्टरमार्फत आवश्यक सामग्रीसहित पावरहाउस क्षेत्रमा पुगेको थियो।

टोलीले डेब्रिस हटाउँदै ट्रान्सफर्मर क्याभर्न तथा पावरहाउसका विभिन्न भागमा खोजी गरे पनि सम्पर्कविहीन कर्मचारीबारे हालसम्म ठोस जानकारी फेला पर्न नसकेको आयोजनाले जनाएको छ । मन्त्रालयका अनुसार बाढीका कारण ४०० मेगावाटभन्दा बढी अर्थात् करिब १० प्रतिशत विद्युत् आपूर्ति प्रभावित भएको छ।

त्यसैले तत्कालीन प्राथमिकता उद्धार तथा विद्युत् आपूर्ति पुनर्स्थापना भए पनि त्यसपछि क्षतिग्रस्त ऊर्जा पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने र दीर्घकालीन रूपमा पुनर्निर्माण गर्ने चुनौती मन्त्रालयसामु छ।

मन्त्रालयले राष्ट्रिय योजना आयोग तथा विपद् प्राधिकरणसँगको सहकार्यमा जलविद्युत् आयोजना, सबस्टेसन तथा अन्य ऊर्जा पूर्वाधारमा भएको क्षतिको विस्तृत मूल्यांकन गर्ने तयारी गरेको छ। क्षतिको मूल्यांकनपछि पुनर्स्थापना, पुनर्निर्माण तथा पुनर्लाभका लागि आवश्यक योजना र स्रोत पहिचान गरिनेछ।

प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको अवस्थाबारे आयोजना व्यवस्थापक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) तथा विद्युत् प्राधिकरणका प्रतिनिधिसँग समन्वय गरी विवरण अद्यावधिक भइरहेको मन्त्रालयले जनाएको छ। रातिको समयमा समेत खोज तथा उद्धार प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई २०० थान हेडलाइट र ९०० थान ब्याट्री उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।