संयुक्त राष्ट्रसंघको नयाँ नक्सा प्रस्तावप्रति भारतको आपत्ति

User Image Prime TV News १ हप्ता अगाडि
Image of संयुक्त राष्ट्रसंघको नयाँ नक्सा प्रस्तावप्रति भारतको आपत्ति

काठमाडौ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित ‘इक्वल अर्थ’ नक्सासम्बन्धी नयाँ प्रस्तावप्रति भारतले आपत्ति जनाएको छ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जम्मु–कस्मिर र लद्दाखसहित भारतको सम्पूर्ण भूभाग भारत सरकारको आधिकारिक नक्साअनुसार नै प्रस्तुत गरिनुपर्ने जनाएको छ।

भारतले आफ्नो सीमा अटल रहेको भन्दै आफ्नो भूभागलाई गलत वा भ्रामक रूपमा प्रस्तुत गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

भारतले संयुक्त राष्ट्रसंघको प्रस्तावको पक्षमा मतदान गरे पनि त्यसको अर्थ कुनै निश्चित नक्सा वा सीमा रेखालाई मान्यता दिएको नहुने विदेश मन्त्रालयले जनाएको छ। प्रस्तावले कुनै देशको सीमा वा सीमांकनलाई कानुनी मान्यता नदिने भारतको भनाइ छ।

नयाँ नक्सांकन प्रविधिले पृथ्वीको गोलाकार सतहलाई समतल कागजमा प्रस्तुत गर्दा देखिने भौगोलिक विकृति कम गर्ने उद्देश्य राखेको छ। यसबाट भारतको भूभाग, अन्तर्राष्ट्रिय सीमा वा क्षेत्रफलमा कुनै परिवर्तन नहुने भारतले स्पष्ट पारेको छ।

परम्परागत मर्केटर नक्सामा भूमध्यरेखाबाट टाढा रहेका देश तथा क्षेत्रहरू वास्तविक आकारभन्दा ठूलो देखिने गर्छन्। नयाँ नक्साले यस्तो विकृति घटाउने भएकाले विभिन्न देशको आकार साविकभन्दा फरक देखिन सक्छ।

संयुक्त राष्ट्रसंघमा अफ्रिकी मुलुकहरूले अघि बढाएको उक्त प्रस्तावले करिब ५०० वर्षदेखि प्रयोग हुँदै आएको मर्केटर नक्सामा रहेको भौगोलिक विकृति सुधार गर्ने प्रयास गरेको हो।

भारतले भने सीमासम्बन्धी संवेदनशील विषयमा आफ्नो आधिकारिक नक्सालाई नै आधार मान्नुपर्ने स्पष्ट धारणा राखेको छ।