मियामी विमानस्थलमा अमेजन एयरको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

User Image Prime TV News १ हप्ता अगाडि
Image of मियामी विमानस्थलमा अमेजन एयरको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको प्रारम्भिक विवरणमा उल्लेख छ।

विमान रनवेबाट बाहिरिँदा करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको बताइएको छ। दुर्घटनापछि विमानले विमानस्थल परिसरमा रहेका केही सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा आगलागी भएको थियो।

घटनालगत्तै करिब २०० जना दमकलकर्मी घटनास्थलमा परिचालन भएका थिए। उनीहरूले आगो नियन्त्रणमा लिनुका साथै घाइतेहरूको उद्धार गरेका थिए।

अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनालाई स्थानीय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।