आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा पनि मध्यम वर्षा हुन सक्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा पनि मध्यम वर्षा हुन सक्ने

काठमाडौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेकाले वर्षाको सम्भावना बढेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत नेपालमा परेको छ।

आज देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि देशभर बादल लाग्नेछ। कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

यस्तै काठमाडौँ उपत्यकामा आज दिउँसो १–२ बजेपछि बादल बढ्दै गएर मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। दिनभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको र केही समय खुले पनि पुनः बादल लाग्न सक्ने पूर्वानुमान गरिएको छ।