त्रिशूली थ्री बीमा फसेका १३ कर्मचारीको उद्धारमा ढिलाइप्रति परिवार आक्रोशित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गत साताको भीषण वर्षापछि आएको बाढी–पहिरोका कारण नुवाकोटस्थित ‘त्रिशूली थ्री बी’ जलविद्युत् आयोजनाको क्याम्पमा फसेका १३ जना कर्मचारीको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै उनीहरूका परिवारजनले आक्रोश व्यक्त गरेका छन्।
बेपत्ताका परिवारजनले आज माइतीघरमा गरेको प्रदर्शनमा सहभागी भएका सिनियर जियोलोजिष्ट सुमेस अमात्यकी पत्नी र बहिनीले सरकारले समयमै उद्धारमा ध्यान नदिँदा आफ्ना आफन्तको ज्यान जोखिममा परेको बताएका हुन्।
५४ वर्षीय भूगर्भविद् अमात्यसहित १३ जना कर्मचारी बाढी आएको दिनदेखि आयोजनाको भवनभित्रै फसेको र हालसम्म उनीहरूको अवस्थाबारे जानकारी हुन नसकेको परिवारजनको भनाइ छ। अमात्यकी पत्नी सुमना श्रेष्ठले गृह मन्त्रालयको उद्धार प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरिन्।
उनका अनुसार परिवारजनले गृह मन्त्रालय पुगेर उद्धारबारे जानकारी लिन खोज्दा समेत घण्टौँसम्म प्रवेश पासका लागि कुर्नुपरेको थियो। ‘हामी गृह मन्त्रालय गयौँ, तर त्यहाँभित्र छिर्नसमेत पासका लागि घण्टौँ कुर्नुपर्ने रहेछ । भित्रका कर्मचारीले रेस्क्यू भइरहेको छ, किन आत्तिनुभएको ? भन्दै गैरजिम्मेवार जवाफ दिन्छन्,’ उनले भनिन्, ‘हामीलाई हाम्रो मान्छेको सुरक्षित फिर्ती चाहियो।’
अमात्यकी बहिनीले उद्धारका लागि विदेशी सहयोग लिन सरकारले ढिलाइ गरेको भन्दै प्रश्न उठाइन्। उनका अनुसार घटनास्थलमा ‘हेभी लिफ्ट’ हेलिकप्टर र आधुनिक उद्धार उपकरणको अभाव छ। ‘यो सामान्य बाढी होइन, यो त सुनामी हो । १० मिनेटमै भवन पुरिएको छ । यस्तो बेला सरकारले किन विदेशी सहयोग समयमै लिएन ? के हँसिया र कोदालो बोकेर यत्रो विपत्तिबाट मान्छे बचाउन सकिन्छ ?’ उनले प्रश्न गरिन्।
सरकारसँग दक्ष जनशक्ति र आवश्यक उपकरण नभए विदेशी सहयोग लिनुपर्ने उनको भनाइ छ। ‘सरकारसँग दक्ष जनशक्ति र उपकरण छैन भने किन विदेशी नगुहारेको ? हामी आफैँ उद्धारमा जान तयार छौँ, तर हामीलाई उपकरण र हेलिकप्टर उपलब्ध गराइयोस्,’ उनले भनिन्।
उनले गृहमन्त्रीले आवश्यक नीतिगत निर्देशन र उद्धारको ठोस योजना बनाउनुपर्नेमा प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोपसमेत लगाइन्। ‘ग्यास सिलिन्डर समातेको फोटो खिचाउन मलाई पठाउनुस्, म जान्छु । तर उहाँ त देशको गृहमन्त्री हो, उहाँले त कुर्सीमा बसेर उद्धारको ठोस योजना बनाउनुपर्ने होइन ?’ उनले भनिन्।
उनले सरकारले प्रभावकारी उद्धार गर्न नसके परिवारजनलाई आवश्यक उपकरण र हेलिकप्टर उपलब्ध गराउन आग्रह गरिन्। ‘यदि उहाँले केही गर्न सक्नुहुन्न भने बरु हात उठाएर सरेन्डर गरिदिनुस् । बरु हामीलाई जान दिनुस्, हामी गएर खोज्छौँ,’ उनले भनिन्।







