गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण विभाग स्थापना हुँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गृह मन्त्रालयले लागु औषध नियन्त्रणसम्बन्धी कामलाई थप प्रभावकारी बनाउन छुट्टै लागु औषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ।
मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन संरचनामा लागु औषध नियन्त्रण शाखालाई विस्तार गर्दै विभाग बनाउने निर्णय गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार विभाग स्थापनाको प्रक्रिया अघि बढिसकेको छ। उनका अनुसार मन्त्रालयको स्वीकृत भएपछि लागु औषध नियन्त्रणलाई विभागीय संरचनामार्फत सञ्चालन गर्ने निर्णय भएको हो।
विभागको महानिर्देशकका रूपमा ऋषिराम तिवारीलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयले भदौ १८ गते तिवारीलाई महानिर्देशकका रूपमा सरुवा गरेको हो। नयाँ विभागका लागि आवश्यक कार्यालय व्यवस्थापनको काम भने भइरहेको छ।
महानिर्देशक तिवारीका अनुसार विभाग नयाँ भएकाले कार्यालय सञ्चालनका लागि उपयुक्त स्थान खोज्ने काम भइरहेको छ। आवश्यक पूर्वाधार व्यवस्थापनपछि विभागले औपचारिक रूपमा काम अघि बढाउने तयारी गरेको छ।
नयाँ विभागमा एक सहसचिव, दुई उपसचिव, तीन शाखा अधिकृत, पाँच नायब सुब्बा र दुई कम्प्युटर अपरेटर गरी विभिन्न तहका कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ। यसअघि गृह मन्त्रालयअन्तर्गत रहेको लागु औषध नियन्त्रण शाखाले नीति निर्माणदेखि नियन्त्रण, अनुगमन तथा दुर्व्यसनीको उपचार र पुनर्स्थापनासम्मका काम गर्दै आएको थियो। अब त्यही संरचनालाई विस्तार गरी विभागीय स्वरूप दिन लागिएको हो।
विभागले लागु औषधसम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्नेछ। साथै लागु औषधको बिक्री–वितरण, ओसारपसार र दुरुपयोग नियन्त्रण, बरामद लागु औषध नष्ट गर्ने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सम्बन्धित निकायसँग समन्वय गर्ने जिम्मेवारीसमेत विभागको हुनेछ।
त्यसैगरी, लागु औषध दुर्व्यसनमा परेकाहरूको उपचार तथा पुनर्स्थापनासम्बन्धी नीति र कार्यक्रम कार्यान्वयनका लागि सामाजिक संघसंस्थासँग समन्वय गर्ने तथा लागु औषधका दुष्परिणामबारे जनचेतना अभिवृद्धि गर्ने काम पनि विभागको कार्यक्षेत्रमा रहनेछ।
सरकारले लागु औषध नियन्त्रणसम्बन्धी कामलाई शाखागत संरचनाबाट विभागीय तहमा उकासेसँगै यस क्षेत्रमा नीति कार्यान्वयन, समन्वय र अनुगमन थप प्रभावकारी हुने अपेक्षा गरेको छ।







