अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले बाढीप्रति व्यक्त गरे दुःख ब्यक्त गर्दै भनेः ‘नेपाल एक्लै छैन’

User Image Prime TV News १ हप्ता अगाडि
Image of अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले बाढीप्रति व्यक्त गरे दुःख ब्यक्त गर्दै भनेः ‘नेपाल एक्लै छैन’

काठमाडौ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–चीन तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले विपद्को यस कठिन घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले बाढीमा परी ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। गत अगस्ट २६ मा हिमपहिरोपछि आएको बाढीले सीमाको दुवैतर्फ ठूलो क्षति पुर्‍याए पनि नेपालमा त्यसको प्रभाव अझ गम्भीर रहेको उनले बताए।

‘धेरैले आफ्ना प्रियजन, घर, गाउँ र जीवनयापनका आधार गुमाएका छन्,’ अल्बानिजले भने, ‘हरेक बित्दो दिनसँगै बेपत्ता व्यक्तिहरू भेटिने आशा चमत्कारजस्तै बन्दै गएको छ।’ उनले बेपत्ता रहेका अस्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान केन्द्रित रहेको बताए।

नेपालले राष्ट्रिय शोक मनाइरहेका बेला अल्बानिजले सामाजिक सञ्जालमार्फत समेत बाढी प्रभावितप्रति समवेदना व्यक्त गरेका छन्। उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरी अस्ट्रेलिया सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गरेको संसद्लाई जानकारी दिए।

‘आज नेपालले राष्ट्रिय शोक मनाइरहँदा म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु—यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न,’ उनले भने। अस्ट्रेलिया सरकारले बाढी प्रभावितको अवस्थाबारे त्यहाँ रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको पनि अल्बानिजले बताए।

उनले विपद्को यस समयमा आशा नहार्न र बेपत्ता नागरिकहरू सुरक्षित भेटिने विश्वासका साथ प्रार्थना गर्न अस्ट्रेलियाली नागरिकलाई आग्रह गरेका छन्। विपद् राहतका लागि सञ्चालन गरिएको आपत्कालीन राहत अपिलमा अस्ट्रेलियाली नागरिकले देखाएको उदारता र सहयोगको समेत उनले प्रशंसा गरे।

अल्बानिजले यस्तो सहयोगले ठूलो विपद्का बेला अस्ट्रेलियाली समाज एकजुट भएर मानवीय भावनाका साथ प्रभावितको साथमा उभिन सक्ने सन्देश दिएको बताए।