भोटेकोसी बाढीबारे प्रचण्डको आरोप : सरकार उद्धारभन्दा ‘हिरोइजम’मा केन्द्रित

User Image Prime TV News १ हप्ता अगाडि
Image of भोटेकोसी बाढीबारे प्रचण्डको आरोप : सरकार उद्धारभन्दा ‘हिरोइजम’मा केन्द्रित

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीपछि सरकारले खोजी, उद्धार र राहतमा अपेक्षित प्रभावकारिता देखाउन नसकेको आरोप लगाएका छन्।

आइतबार काठमाडौंको पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा बोल्दै प्रचण्डले विपद्को समयमा सरकारको प्राथमिकता पीडितको उद्धार र राहत हुनुपर्ने भए पनि त्यसअनुसार काम हुन नसकेको बताएका हुन्।

उनले प्रधानमन्त्री बालेन्द्र शाह विपद् व्यवस्थापनमा राजनीतिक तथा प्रशासनिक संयोजन गर्नुभन्दा सामाजिक सञ्जालमार्फत गतिविधि सार्वजनिक गर्न केन्द्रित भएको टिप्पणी गरे। गृहमन्त्रीको भूमिका पनि सीमित देखिएको उनको आरोप थियो।

प्रचण्डले विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सरकारले तत्कालै सबै राजनीतिक दल, छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्नुपर्ने बताए। विशेषगरी सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि विदेशी प्राविधिक सहयोग लिन ढिलाइ गरिएको उनको दाबी थियो।

उनले भोटेकोसी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले अन्तर्राष्ट्रिय तहमा जलवायु न्यायको विषयलाई थप प्रभावकारी रूपमा उठाउनुपर्ने बताए। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको भन्दै उनले विपद् न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा राखे।

बैठकमा सहसंयोजक माधवकुमार नेपालले पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विगतमा आफूले सरकारको नेतृत्व गर्दा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने प्रयास गरेको स्मरण गरे। उनका अनुसार हिमाली क्षेत्रको जोखिमबारे नेपालले निरन्तर विश्व समुदायलाई सचेत गराउन आवश्यक छ।

बैठकले तत्कालीन खोज तथा उद्धारको कामसँगै अब राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रमा सुरक्षित आवास, जोखिमयुक्त बस्तीको पुनर्व्यवस्थापन तथा नदी किनारमा पूर्वाधार निर्माणको मोडल पुनर्विचार गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्।

नेकपाका नेता गङ्गानारायण श्रेष्ठका अनुसार बाढीपछिको पुनर्निर्माणमा पार्टी पङ्क्तिलाई सीप, क्षमता र दक्षताका आधारमा एकीकृत रूपमा परिचालन गर्ने नीति बनाइएको छ। उनले विपद् व्यवस्थापनमा पार्टीभित्र पनि संस्थागत समन्वय कमजोर भएको स्वीकार गरे।

बैठकमा बाढी प्रभावित क्षेत्रमा पार्टीले सञ्चालन गरेको खोजी, उद्धार तथा राहत अभियानको समीक्षा प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो। जिल्लागत रूपमा भइरहेको राहत तथा उद्धार कार्यलाई थप व्यवस्थित बनाउन निर्देशन दिइएको छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित क्षेत्रका समस्या र आगामी चुनौतीबारे बैठकमा विस्तृत छलफल भएको जानकारी दिए। उनका अनुसार बैठकले खोजी–उद्धारदेखि पुनर्निर्माण, पूर्वसूचना प्रणाली, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष र अन्तर्राष्ट्रिय जलवायु न्यायसम्म समेटिएको २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।

बैठकले विपद् प्रभावित क्षेत्रमा पार्टी नेतृत्वको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको निष्कर्ष निकाल्दै संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई रसुवा तथा नुवाकोटका प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न सुझाव दिएको छ।

पार्टीका नेताहरूले बाढीपछिको पुनर्निर्माणलाई केवल क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्ने अवसरका रूपमा नभई जोखिम न्यूनीकरणसहितको नयाँ विकास मोडल निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेको बताइएको छ।