बाढी प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजे नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
राष्ट्रपति पौडेलले आजै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। स्थलगत अवलोकनका क्रममा उनले विपद्बाट भएको क्षति, उद्धारको अवस्था तथा प्रभावित नागरिकले भोगिरहेका समस्याबारे नेपाली सेना लगायत सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए।
भदौ १० गते आएको बाढी तथा पहिरोले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्का कारण मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा समेत व्यापक क्षति भएको छ।
प्राप्त विवरणअनुसार विपद्मा परी हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन्। जलविद्युत् आयोजनाका क्षेत्रमा समेत ठूलो संख्यामा मानिस हराइरहेका छन्। राष्ट्रपतिको सम्बोधनमा बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावितको उद्धार तथा राहत, पुनःस्थापना र आगामी विपद् व्यवस्थापनका विषयमा धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।







