जलविद्युत आयोजनाका सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी रोकिँदैन : नेपाली सेना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भोटेकोसी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी कार्य सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म जारी रहने नेपाली सेनाले जनाएको छ। सोमबार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सरकारी तहबाट खोजी रोक्ने निर्णय नभएसम्म उद्धार अभियान निरन्तर चल्ने बताएका हुन्। उनका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत आयोजनाका सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी उद्धारकर्मीको संयुक्त टोली परिचालन गरिएको छ। जोखिमपूर्ण अवस्था हुँदाहुँदै पनि सम्भावित जीवित व्यक्तिको खोजीलाई प्राथमिकतामा राखिएको सेनाको भनाइ छ। भोटेकोसी बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अनुसार आयोजना क्षेत्र र विद्युत् सुरुङमा रहेका ८९८ जना सम्पर्कविहीन छन्। रसुवामा रसुवागढी, रसुवा–भोटेकोसी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत आयोजना प्रभावित भएका छन्। यस्तै, नुवाकोटमा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा आयोजना बाढीबाट प्रभावित भएका छन्। सुरुङभित्र उद्धारकर्मीलाई समेत अक्सिजनको समस्या सेनाका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ। उद्धार टोली करिब ११५ मिटर सुरुङभित्र पुगेपछि उनलाई जीवित अवस्थामा बाहिर निकालिएको हो। सहायक रथी थापाका अनुसार उक्त आयोजनाको सुरुङभित्र उद्धारकर्मीलाई समेत अक्सिजनको आवश्यकता पर्ने अवस्था छ। नेपाली र कोरियन उद्धारकर्मीको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरेर खोजी गरेको उनले जानकारी दिए। त्रिशूली–३ ए मा लेदो हटाउन चुनौती नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावर हाउसमा पनि उद्धार कार्य कठिन बनेको सेनाले जनाएको छ। पावर हाउससम्म पुग्न चारवटा स्काभेटर र तीनवटा वाटर पम्प प्रयोग गरिएको थियो। उक्त आयोजनाबाट दुई जनालाई जीवितै उद्धार गर्नुका साथै एक जनाको शव निकालिएको सेनाले जनाएको छ। पावर हाउसको प्रवेशद्वारसम्म पुगे पनि भित्र ठूलो मात्रामा लेदो भरिएकाले खोजीमा कठिनाइ भइरहेको छ। सेनाका अनुसार सुरुङको करिब १७५ मिटरभित्र पावर हाउस रहेको छ। बाढीपछि करिब १० दिनको प्रयासपछि उद्धार टोली पावर हाउससम्म प्रवेश गर्न सफल भएको थियो। त्रिशूली–३ बी मा पनि निरन्तर खोजी माथिल्लो त्रिशूली–३ बी आयोजनामा करिब ४० जना मानिस पुरिएको आशंका गरिएको छ। त्यहाँ नेपाली सेनाका करिब ९० जना सुरक्षाकर्मी परिचालन गरी खोजी तथा उद्धार जारी राखिएको छ। उद्धारका क्रममा जनशक्ति र सावेलको प्रयोगसँगै मिनी स्काभेटरसमेत परिचालन गरिएको सेनाले जनाएको छ। त्रिशूली–३ ए हुँदै त्रिशूली–३ बीको सुरुङसम्म पुग्ने गरी उद्धार टोलीले काम गरिरहेको सहायक रथी थापाले जानकारी दिए। बाढीले क्षतिग्रस्त आयोजनाका सुरुङभित्र अझै ठूलो जोखिम रहेको भए पनि सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिने सेनाको प्रतिबद्धता छ। सुरुङ ‘ब्रेक थ्रु’ गरेर पूर्ण रूपमा खोजी गर्न नसकिएसम्म अभियान नरोक्ने सेनाले स्पष्ट पारेको छ।







