कांग्रेसमा सहमतिको वातावरण बन्दै, खड्का–शेखरसँग संस्थापन पक्ष नजिक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर देखिएको विवाद समाधानतर्फ अघि बढेको संकेत देखिएको छ।
संस्थापन पक्ष र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा नेता डा. शेखर कोइराला पक्षबीच सहमतिको सम्भावना बढेको नेताहरूले बताएका छन्। सानेपामा आइतबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सदस्यता अद्यावधिकसम्बन्धी विवादमा लचकता अपनाउने निर्णय भएपछि सहमतिको वातावरण बनेको नेताहरूको दाबी छ।
पार्टीले महाधिवेशनका लागि सदस्यता नवीकरण गरेका तर तोकिएको समयभित्र अद्यावधिक गर्न छुटेका सदस्यलाई समेत सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परेका तथा निधन भएका व्यक्तिबाहेक नवीकरण गरेका सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
यही विषय खड्का र कोइराला पक्षले उठाउँदै आएको प्रमुख मागमध्ये एक थियो। माग सम्बोधन गर्ने दिशामा संस्थापन पक्ष तयार देखिएपछि सहमतिको आधार बनेको नेताहरूको भनाइ छ।
देउवा पक्षको अडान कायमै
पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने १५औँ महाधिवेशन आफ्नै नेतृत्वमा हुनुपर्ने अडान राख्दै आएको छ। यद्यपि, खड्का र कोइराला पक्षले अघि सारेका अन्य मागमा सहमति खोज्न संस्थापन पक्ष तयार रहेको एक पदाधिकारीले बताए।
उनका अनुसार पार्टीलाई एकताबद्ध राख्न सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ। बैठकअघि सभापति थापाले खड्का र कोइरालासँग छुट्टाछुट्टै छलफलसमेत गरेका थिए। खड्कानिकट नेता श्याम घिमिरेले पनि आफूहरूले अघि सारेका माग सम्बोधन भए संस्थापन पक्षसँग सहमति हुन सक्ने बताए।
उनका अनुसार खड्काले अघि सारेको आठबुँदे प्रस्तावलाई कोइराला पक्षले पाँचबुँदे मागका रूपमा अघि सारे पनि मूल विषयहरू समान छन्।
सदस्यता विवाद समाधानतर्फ
कांग्रेसभित्र लामो समयदेखि विवादको विषय बनेको सदस्यता अद्यावधिकलाई अनिवार्य बनाउने वा नबनाउने विषयमा सहमति जुटेपछि महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुलेको नेताहरूको बुझाइ छ।
सदस्यता अद्यावधिकका लागि छुट्टै संयन्त्र गठन गर्नेलगायत विषयमा पनि संस्थापन पक्ष सकारात्मक देखिएको खड्कानिकट नेताहरूको भनाइ छ। नेता घिमिरेले पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको भन्दै सबै पक्षले केही न केही लचकता अपनाउनुपर्ने बताए।
उनका अनुसार खड्काको मूल उद्देश्य पार्टी एकता कायम राख्दै निष्पक्ष महाधिवेशन सुनिश्चित गर्नु हो।
अर्जुननरसिंह केसीको पाँचबुँदे प्रस्ताव
यसअघि इतर पक्षलाई समेत समेटेर अघि बढ्नुपर्ने भन्दै नेता अर्जुननरसिंह केसीले पाँचबुँदे प्रस्ताव बैठकमा राखेका थिए।
उनले विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो र वर्तमान कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा समायोजन गर्नुपर्ने प्रस्ताव गरेका छन्। आवश्यकताअनुसार विधानको सम्बन्धित धारा निलम्बन गरी केन्द्रीय कार्यसमितिको संख्या बढाउने विकल्प पनि उनले अघि सारेका छन्।
त्यस्तै, निष्पक्ष महाधिवेशन सम्पन्न गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिने, महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यकताअनुसार सदस्य थपघट गर्ने प्रस्तावसमेत केसीले गरेका छन्।
उनले १५औँ महाधिवेशन आगामी कात्तिक १७ देखि १९ गतेसम्म गर्ने मिति सर्वसम्मत रूपमा तोकेर कुनै पनि बहानामा कार्यतालिका सार्न नहुने धारणा राखेका छन्।
वडा अधिवेशनको मिति सर्न सक्ने
खड्का र कोइराला पक्षसँग सहमतिको सम्भावना बढेसँगै कांग्रेसले वडा अधिवेशनसहित महाधिवेशनको संशोधित कार्यतालिका ल्याउने तयारी गरेको छ। कार्यसम्पादन समितिको बैठकले सहमतिका आधारमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने तयारी गरेको नेताहरूले बताएका छन्।
पार्टीभित्रको विवाद समाधान गर्दै सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने दबाब नेतृत्वमाथि बढेको छ। पछिल्लो छलफलले सहमतिको आधार तयार गरे पनि देउवा पक्षको नेतृत्वसम्बन्धी अडान र अन्य प्रक्रियागत विषयमा अन्तिम सहमति हुन बाँकी छ।







