बाढीपहिरो पीडितका लागि कांग्रेसले दियो एक करोड

User Image Prime TV News १ हप्ता अगाडि
Image of बाढीपहिरो पीडितका लागि कांग्रेसले दियो एक करोड

काठमाडौ । नेपाली कांग्रेसले रसुवा, नुवाकोटलगायतका बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ।

कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम उपलब्ध गराएको हो। गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कांग्रेसले जनाएको छ।

सोमबार कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै कांग्रेसले विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना र राहतमा राज्यको प्रयासलाई सहयोग पुर्‍याउन आर्थिक सहयोग गरेको जनाएको छ।

चेक हस्तान्तरणका क्रममा महामन्त्री पौडेलसँगै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, प्रमुख सचेतक वासना थापा तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।

भदौ १० गते आएको बाढीपहिरोले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा व्यापक क्षति पुर्‍याएको थियो। बाढीका कारण घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुग्नुका साथै ठूलो मानवीय संकटसमेत सिर्जना भएको छ।

कांग्रेसले राहतपछि प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आएको छ। पार्टीले सरकार तथा सम्बन्धित निकायमार्फत पीडितसम्म राहत प्रभावकारी रूपमा पुर्‍याउन आग्रहसमेत गरेको छ।